×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले १८ लाख ६१ हजार छ सय रुपैयाँ बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोली र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित खुर्सेद अंसारीको घर पछाडि लुकाइछिपाई गोदाममा राखिएको अबैध सामान फेला पारेको हो ।

बरामद गरिएका सामानमा विभिन्न ब्रान्डका चकलेट, फेबिक्विक र दाँत माझ्ने ब्रस रहेका छन् । यी सामानहरू आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–२५, चण्डाल चोकस्थित आकस्मिक चेकप्वाइन्टबाट पनि भन्सार छलीका सामान बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा, भारतबाट अवैध रूपमा भन्सार छली ल्याइरहेको BR-05-U 4210 नम्बरको मोटरसाइकलमा लोड गरिएको कपडा र किराना सामान बरामद गरेको सिंहले बताए । 

Back to top