×

  • ओमप्रकाश सर्राफ

विश्वव्यापी सन्दर्भमा पर्यटन क्षेत्रको महत्त्व र योगदान निरन्तर विस्तार हुँदै गएको छ। यो क्षेत्रले मुलुकको आर्थिक विकास, रोजगारीको सिर्जना र जीडीपी वृद्धि जस्ता महत्वपूर्ण पक्षहरूमा ठोस योगदान दिन्छ। नेपाल जस्तो मुलुकको लागि पर्यटनको विकासले सांस्कृतिक पहिचान, स्थानीय कला र परम्परागत उत्पादनहरूको संरक्षण र प्रवर्द्धनको संभावना पनि बढाउँदै लैजान्छ। यद्यपि, २०१९ मा फैलिएको कोभिड–१९ महामारीले नेपालको पर्यटन क्षेत्रमा गहिरो असर पुर्‍यायो, जसबाट मधेस प्रदेश पनि अछुतो रहेन। महामारीको प्रभावले यो प्रदेशमा ५० करोडभन्दा बढी नोक्सानी भएको पर्यटन व्यवसायीहरूले अनुमान गरेका थिए।

नेपालको पर्यटन नीतिमा मधेस प्रदेशलाई आवश्यक प्राथमिकता नदिइएको अवस्था स्पष्ट देखिन्छ। मुख्यतया हिमाली र पहाडी क्षेत्रका गन्तव्यहरूलाई मात्र प्राथमिकतामा राख्दै आएको सरकारी नीति, कार्यक्रम र बजेटले मधेस प्रदेशको पर्यटन क्षेत्रलाई ओझेलमा पार्दै आएको छ। मधेसमा पर्यटन पुनःउद्धारको लागि सरकारका सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने देखिन्छ। यसका लागि नेपाल सरकारले मधेस प्रदेशको पर्यटन मन्त्रालयलाई प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्न तत्पर हुनुपर्छ।

सरोकारवालाको भूमिका

मधेस प्रदेशको पर्यटन विकासका लागि केही महत्वपूर्ण पहलहरू आवश्यक छन्। होटल व्यवसायीहरूलाई राहत प्याकेज उपलब्ध गराउन र ऋणमा सहुलियतको व्यवस्था गर्न नेपाल राष्ट्रबैंकसँग समन्वय गर्नुपर्ने हुन्छ। प्रदेश सरकारहरूले बीचमा समन्वय गर्दै अन्तरप्रदेश पर्यटन प्रवर्द्धनलाई सहयोग गर्न संघीय सरकारको पनि भूमिका महत्त्वपूर्ण हुनेछ। पर्यटनमैत्री वातावरणको निर्माणका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई विशेष प्रशिक्षण दिने कार्यक्रम ल्याउन आवश्यक छ, विशेष गरी भारतीय पर्यटकहरूलाई लक्षित गरी।

पर्यटकीय गन्तव्यहरूको सुधार र मर्मत–सम्भारमा संघीय सरकारसँगको साझेदारी अपरिहार्य छ। साथै, अन्तर्राष्ट्रिय विमानस्थलहरूमा मधेस प्रदेशका प्रमुख गन्तव्यहरूको प्रचारप्रसार गर्न पम्प्लेट र ब्रोसरको वितरणको व्यवस्था गरिनुपर्ने देखिन्छ। यसबाहेक, पर्यटकीय विकासका लागि व्यवसायकेन्द्रित पर्यटन बैंकको अवधारणा पनि अगाडि सार्न सकिन्छ, जसले मधेस प्रदेशको पर्यटन क्षेत्रमा दीर्घकालीन औद्योगिक विकासको मार्ग प्रशस्त गर्न सक्छ।

मधेसका प्रमुख गन्तव्यहरू

मधेस प्रदेशका विभिन्न धार्मिक स्थलहरूलाई व्यवस्थित सर्किटको रूपमा विकास गरी प्रचारप्रसार गर्ने आवश्यकता छ। जनकपुरको जानकी मन्दिर, धनुषाधाम, रौतहटको राजदेवी मन्दिर, बाराको महागढिमाई मन्दिरजस्ता धार्मिक स्थलहरूलाई शक्तिपीठ सर्किटमा रूपान्तरण गर्न सकिन्छ। यसले धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। यस्तै, जनकपुरधामलाई रामायण सर्किटको केन्द्रबिन्दु बनाउँदै भारतको सीतामढी, अयोध्या लगायतका स्थलहरूसँग जोड्न सकिन्छ, जसले भारतबाट लाखौं पर्यटक भित्र्याउने संभावना राख्छ।

पर्यटन प्रवर्द्धनका लागि डिजिटल सामग्रीहरू तयार गरी प्रचारप्रसार गर्नुपर्छ। यस्ता अभियानहरूले मधेसको सांस्कृतिक पर्वहरू जस्तै छठ, होली, रामनवमी, जनकपुर परिक्रमा, सलहेश मेला जस्ता महत्वपूर्ण पर्वहरूको महोत्सवका रूपमा प्रवर्द्धन गर्न मद्दत पुर्‍याउँछन्।

संस्कृतिक पर्यटनको संभावना

मधेस प्रदेशमा मैथिली, भोजपुरी, थारू संस्कृतिको बाहुल्य छ। यी सांस्कृतिक समुदायहरूलाई केन्द्रमा राखेर ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। मैथिली र भोजपुरी गाउँहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्न सकिन्छ। यसले ग्रामीण पर्यटनको विकासमा उल्लेखनीय योगदान पुर्याउँछ।

साथै, मधेसका साहित्यिक व्यक्तित्वहरूको पहिचान गराउँदै साहित्यिक पर्यटनको विकास गर्न सकिन्छ। मैथिलीका महान् कवि विद्यापतिको जन्मस्थल सिरहा, भोजपुरी कवि बाबा भिनकरामको जन्मस्थल सर्लाही, र गध साहित्यका लेखक ज्योति रेश्वर ठाकुरको सिम्रौनगढलाई पुरातात्विक र साहित्यिक पर्यटनका रूपमा प्रवर्द्धन गर्न सकिन्छ।

आर्थिक पर्यटनको संभावना

नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा व्यापार र व्यवसायका लागि आउने पर्यटकलाई लक्षित गर्दै वीरगन्ज र आसपासका क्षेत्रहरूको भ्रमण प्याकेज तयार गर्न सकिन्छ। यसले मधेस प्रदेशमा पर्यटन विस्तार गर्ने र आर्थिक लाभ सिर्जना गर्न सहयोग पुर्याउँछ।

यसरी, मधेस प्रदेशमा धार्मिक, सांस्कृतिक, ग्रामीण र आर्थिक पर्यटनको ठुलो संभावना रहेको छ। यस्ता योजनाहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न सके मधेस प्रदेशको पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति हुन सक्नेछ।

Back to top