×

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्जको आयोजनामा बिहीबार वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ।

वीरगञ्ज आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा २५२ जना विद्यार्थीको दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष लायन सुनिल गुप्ताले जानकारी दिनुभयो।

शिविरमा वीरगञ्ज आँखा तथा दाँत अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार अस्थानाले विद्यार्थीहरूको दाँत परीक्षण गरेका थिए। परीक्षणको क्रममा दाँतमा समस्या देखिएका केही विद्यार्थीहरूको उपचारमा अस्पतालले ५० प्रतिशत छुटको व्यवस्था गरेको पनि अध्यक्ष गुप्ताले जानकारी दिनुभयो।

शिविरको उद्घाटन क्लबका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको थियो। कार्यक्रममा क्लबका सचिव दीपेन्द्र प्रसाद यादव, सदस्यहरू विजय कुमार गुप्ता, गोविन्द प्रसाद कानु, लियो क्लबका सदस्य कुनाल गुप्ता, सचिन गुप्ता, कुशल गुप्ता, विद्यालयका शिक्षक शिक्षिका, तथा वीरगञ्ज आँखा अस्पतालकी स्वास्थ्यकर्मी सोनम तिवारी लगायतको उपस्थित रहेको थियो।

उक्त अवसरमा लायन्स क्लबले विद्यालयका विद्यार्थीहरूलाई दाँत सफा गर्ने ब्रश वितरण गरेको जानकारी पनि गराएको छ।

Back to top