×

९० को दशककी चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकर यतिबेला आफ्नो निजी जीवनका कारण चर्चामा आएकी छिन् । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार उनले आठ वर्ष लामो आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन् । उनले पति मोहसिन अख्तर मिरसँग सम्बन्ध विच्छेद गर्न लागेको खबरहरूमा भनिएको छ ।

अभिनेत्रीले सम्बन्ध विच्छेद गराइ पाउँ भन्दै निवेदन दिइसकेको बताइएको छ । समाचारमा मुम्बईस्थित अदालतको एक स्रोतलाई उद्धृत गर्दै अभिनेत्रीले करिब चार महिनाअघि अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेकी भनिएको छ ।

पतिसँग अभिनेत्रीले किन सम्बन्ध विच्छेद मागिन् भन्ने चाँहि अहिलेसम्म खुल्न सकेको छैन । सम्बन्ध विच्छेद आपसी सहमतिमा नभएको बताइएको छ । उर्मिला र काश्मिरी व्यापारी तथा मोडल मोहसिनले आठ वर्षअघि सामान्यत तरिकाले बिहे गरेका थिए ।

एक्कासि बिहे गरेर अभिनेत्रीले आफ्ना फ्यानलाई छक्क पारेकी थिइन् । सो बिहेमा बेहुला बेहुलीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी भएका थिए । उर्मिलाले र मोहसिनले सन् २०१६ को फेब्रुअरी ४ मा बिहे गरेका थिए ।

यी दुवैको भेट फेशन डिजाइनर मनीष मल्होत्रामार्फत भएको थियो । कामको कुरा गर्ने हो भने उर्मिला लामो समयदेखि ठुलो पर्दाबाट टाढा छिन् । अन्तिमपटक अभिनेत्री सन् २०१४ मा मराठी फिल्म अजूबामा देखिएकी थिइन् ।

Back to top