×

वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महीनामा अर्थतन्त्रको बाह्य सूचकको सुधारमा निरन्तरता देखिएको छ भने आन्तरिक अर्थतन्त्रमा पनि केही सुधार हुन लागेको संकेत देखिएको छ ।

खासगरी निजीक्षेत्रतर्फको कर्जा विस्तारमा साउनमा केही सुधार देखिएको छ । निजीक्षेत्रबाट कर्जा माग नभएका कारण बैंक, वित्तीय क्षेत्रमा अतिरिक्त तरलताको अवस्था विद्यमान छ ।

कर्जा बढ्यो

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको साउन महीनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार निजीक्षेत्रतर्फको कर्जा शून्य दशमलव ३ प्रतिशत अर्थात् १४ अर्ब ११ करोड रुपैयाँले बढेको छ जबकि गत आवको साउनमा यस्तो कर्जा शून्य दशमलव १ प्रतिशत अर्थात् ४ अर्ब ३५ करोड रुपैयाँले घटेको थियो ।

केन्द्रीय बैंकले चालू आवमा १२ दशमलव ५ प्रतिशतले निजीक्षेत्रतर्फको कर्जा बढाउने लक्ष्य लिएको छ । सोहीअनुसार लचिलो मौद्रिक नीति लागू गरेको छ । निजीक्षेत्रतर्फको कर्जा वृद्धि हुनुलाई आर्थिक गविविधि वृद्धि भएका रूपमा अर्थ लगाइन्छ ।

बुधवार एशियाली विकास बैंकले पनि चालू आवमा अर्थतन्त्रमा केही सुधार भई यसको आकार ४ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । त्यसअघि अन्तर्राष्टिय मुद्रा कोषले पनि अर्थतन्त्रमा सुधार आएको बताएको थियो ।

बाह्य क्षेत्र सुध्रियो

अर्थतन्त्रका आतिरिक्त सूचकहरूमा प्रभावकारी सुधार नभए पनि बाह्य सूचकमा भने निरन्तर सुधार देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विप्रेषण आप्रवाहमा वृद्धि र आयात घट्दा बाह्य सूचकहरू थप बलियो भएका हुन् ।

लामो समयदेखि आन्तरिक आर्थिक गतिविधिमा शिथिलता देखिएको छ भने बाह्य क्षेत्र बलियो बन्दै गएको छ । अन्तरराष्ट्रिय व्यापार, विप्रेषण लगायत अन्य क्रियाकलापबाट हुने आय बाह्य क्षेत्रमा पर्छन् ।

चालु खाता बचतमा

साउनमा चालू खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा देखिएको छ । गत आवको यसै अवधिको तुलनामा चालू खाता बचत दोब्बरभन्दा माथि पुगेको देखिएको छ । गत आवको साउनमा चालू खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

देशभित्र भित्रने रकमभन्दा बाहिरिने रकम कम भएपछि चालू खाता बचत उच्च भएको हो । यसमा विप्रेषण आप्रवाहमा आएको वृद्धि र आयात घट्नुलाई मुख्य कारण मानिएको राष्ट्र बैंकले बताएको छ ।

बढ्यो विप्रेषण

यसपालि साउनमा विप्रेषण आप्रवाह पोहोर साउनको तुलनामा १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । पोहोर साउनमा विप्रेषण आप्रवाह अघिल्लो वर्ष साउनको तुलनामा २२ दशमलव ८ प्रतिशतले बढेको थियो ।

साउनमा कुल वस्तु आयात भने अघिल्लो साउनको तुलनामा शून्य दशमलव ६ प्रतिशतले घटेर १ खर्ब २८ अर्ब ३८ करोडमा सीमित भएको छ । विदेश घुम्न र अध्ययन जानेहरूको खर्च बढ्दा खुद सेवा आयको घाटा भने बढेको छ ।

साउनमा खुद सेवा आय १५ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय ११ अर्ब २५ करोड रुपैयाँले घाटामा थियो । साउनमा भ्रमण आय ८ दशमलव १ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुग्दा भ्रमण व्यय ३० दशमलव ४ प्रतिशतले बढेर २२ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

विदेशी विनियम २१ खर्ब

यसैगरी विदेशी मुद्राको सञ्चिति पनि २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । विदेशी मुद्रा सञ्चिति अघिल्लो महीना असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेको हो । आव २०८१र८२ को पहिलो महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले १६ दशमलव ७ महीनाको वस्तु र १३ दशमलव ५ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Back to top