×

फाईल फोटो

वीरगञ्ज । पर्सा जिल्ला हाल विपद् जोखिमको सूचीमा परेसँगै सुरक्षा निकायहरूलाई ‘हाइ–अलर्ट’ मा राखिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जल तथा मौसम विभागले मधेसका पर्सा सहित तीन जिल्लालाई ‘रेड जोन’मा राखेपछि तत्काल सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरू पूर्ण तयारी अवस्थामा रहेको बताए । उनका अनुसार, पर्सामा सात सय भन्दा बढी सशस्त्र प्रहरी तैनाथ गरिएको छ, जसले सम्भावित विपद्बाट हुने क्षति कम गर्नका लागि उच्च सतर्कता अपनाइरहेका छन् ।

जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भूसालले विपद् व्यवस्थापनमा संलग्न सबै निकायहरूलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, “विपदको सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुरक्षा निकायहरूले पूर्वतयारीका साथ सतर्कता अपनाइसकेका छन् र समन्वयका साथ काम गरिरहेका छन् ।”

पर्साको पूर्वी क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा गणको मुख्यालय, र पश्चिमी क्षेत्रमा पोखरियाको सशस्त्र प्रहरी बल तयारीमा छन् । विपद्का क्रममा तत्काल परिचालन गर्न तीनवटै सुरक्षा निकायबीच समन्वय भइरहेको छ भने, ३० जनाको प्राविधिक टोली पनि तयारी अवस्थामा छ ।

केही दिनअघि मात्र पर्सा जिल्लाको घडिअर्वा पोखरीमा विपद् उद्धार अभ्यास सम्पन्न गरिएको थियो, जसले विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरूको तयारीलाई थप सुदृढ बनाएको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए । 

पर्सामा हालको विपद् जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले सबै संयन्त्रहरूलाई उच्च सतर्कतामा राखी, सम्भावित क्षतिको जोखिम न्यूनीकरण गर्न व्यापक प्रयास गरिरहेको छ ।

Back to top