×

वीरगञ्ज ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस सञ्चालन गर्न रोक लगाएको छ। असोज ११ र १२ गते भारी वर्षा र विपद् जोखिमका घटनाहरू हुन सक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठकले असोज ११ र १२ गते रातिको समयमा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय गरेको छ। मौसम विभागले बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारी वर्षा र अति भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ, जसले गर्दा विपद् जोखिम बढ्न सक्ने बताइएको छ।

प्राधिकरणले किसानहरूलाई धान नकाट्न, काटिसकेको भए तुरुन्त थन्काउन, तराई तथा मधेस क्षेत्रमा अन्नपात भुइँतालमा नराख्न विशेष अनुरोध गरेको छ। साथै, पहिरो जोखिम भएका स्थानहरूमा तथा नदी किनाराका बस्तीहरूमा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।

त्यसैगरी, दाउरा निकाल्न र माछा मार्नका लागि नदी किनारामा नजान पनि सचेत गराइएको छ, किनकि नदीहरूमा जलस्तर बढ्ने सम्भावना रहेको छ। विपद् न्यूनीकरणका लागि प्राधिकरणले नागरिकहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ।

Back to top