×

वीरगञ्ज। पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको संख्या बढ्दै गए पनि यो सेवा प्रदान गर्ने मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूको संख्या अत्यन्तै कम रहेको छ। जिल्लाका १४ पालिकामध्ये हालसम्म केवल ४ वटा पालिकामा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। वीरगञ्ज महानगरपालिका, पोखरिया, पर्सागढी नगरपालिका, र सखुवाप्रसौनी गाउँपालिकामा मात्र यो सेवा पाइन्छ।

स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा यादवका अनुसार, बहुदरमाई, पटेर्वासुगौली, ठोरी, छिपहरमाई, धोबिनी, कालिकामाई, पकहामैनपुर, जगरनाथपुर, जीराभवानी, र बिन्दवासिनी गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने कुनै स्वास्थ्य संस्था छैन।

हाल वीरगञ्ज महानगरका ५, पर्सागढी नगरपालिकामा १, पोखरिया नगरपालिकामा १, र सखुवाप्रसौनी गाउँपालिकामा २ गरी कुल ९ स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ। तीमध्ये ७ सरकारी र २ निजी स्वास्थ्य संस्था हुन्। यादवका अनुसार, ७ सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ।

सुरक्षित गर्भपतन सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीले एसबिए (दक्ष प्रसूतीकर्मी) को दुई महिने तालिम तथा थप एमए (मेडिकल एबोर्सन) को ५ दिनको तालिम लिनुपर्ने हुन्छ। तर तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावले जिल्लाका बाँकी १० पालिकामा यो सेवा सञ्चालन हुन नसकेको यादवले बताइन्।

स्वास्थ्य कार्यालय पर्साले परिवार नियोजन कल्याण महाशाखा, काठमाडौंलाई १० जनालाई आवश्यक तालिम दिने व्यवस्था गर्न पटक-पटक आग्रह गरिसकेको छ, तर अहिलेसम्म कुनै सुनुवाई नभएको यादवको भनाइ छ।

ग्रामीण भेगका सेवाग्राहीहरू सुरक्षित गर्भपतन सेवा नपाउँदा भारतका अस्पतालमा जान बाध्य छन्, तर त्यहाँ पनि दक्ष स्वास्थ्यकर्मी नहुँदा महिलाहरू आफ्नो ज्यान जोखिममा राखेर सेवा लिनुपरेको यादवले बताइन्।

स्वास्थ्य कार्यालय पर्साका अनुसार, गत आर्थिक वर्षमा पर्सामा १ हजार ६ सय ७१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए, जुन अघिल्लो वर्षको १ हजार ४ सय ९८ को तुलनामा बढेको हो।

Back to top