×

वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत टीकाराम चौलागाईले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्, यद्यपि कार्यालयमा कर्मचारीहरूको संख्या कम रहेको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले कर सम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक प्रयोग गर्ने अधिकार नरहेको स्पष्ट पारे।

चौलागाईले करदाताहरूलाई कर शिक्षाको कमीका कारण जरिबाना तिर्नुपर्ने अवस्था आएको भन्दै कर सम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताए।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले पर्सा र बाराका उद्योगी तथा व्यापारीहरूले सामना गरिरहेका चुनौतीहरूबारे जानकारी गराउँदै निजी क्षेत्रमैत्री कर प्रशासन ल्याउनुपर्ने माग गरे। उनले करको दर नबढाई दायरालाई फराकिलो बनाउनेतर्फ जोड दिए।

संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सहकोषाध्यक्ष अनोज रुँगटालगायत संघका पदाधिकारीहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

Back to top