×

वीरगञ्ज । विश्व पर्यटन दिवस २०२४ “Toursim and Peace” भन्ने नारासहित वीरगञ्जमा उत्साहका साथ मनाइएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले आयोजना गरेको कार्यक्रममा भारतबाट आएका धार्मिक पर्यटकहरुलाई स्वागत गर्दै दिवस मनाइएको हो । शंकराचार्य गेटमा पर्यटकहरुलाई फूलमाला, टीका, र दही खुवाएर भव्य स्वागत गरिएको हो ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष हरि पन्तले गरेका थिए । उनले वीरगञ्जको होटल व्यवसायको प्रमुख आधार भारतीय पर्यटक भएको उल्लेख गर्दै, होटल तथा पर्यटन व्यवसायको वृद्धिका लागि पर्यटकको आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, समाजसेवी एवम् बरिष्ठ होटल व्यवसायी पशुपति विक्रम शाह, र समाजसेवी उशा शाह लगायत संघका पदाधिकारी, सदस्यहरु, पर्यटन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भारतीय पर्यटकहरूको लागि सहज वातावरणको आवश्यकता औँल्याउँदै, सीमा क्षेत्रमा थप सुविधाहरूको प्रबन्ध गर्नुपर्ने कुरा राखे । चौहानले भारतीय पर्यटकलाई आकर्षित गर्न सहयोगी संरचना र सुविधाहरू विकास गरिनुपर्ने धारणा पनि राखे ।

समाजसेवी पशुपति विक्रम शाहले पर्यटनले धार्मिक, सांस्कृतिक, र आर्थिक पक्षमा समाजलाई ठूलो योगदान पु-याउने भन्दै स्थानीय व्यवसायहरूलाई टेवा पुग्ने कुरामा जोड दिए । नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले वीरगञ्जमा पर्यटनका अपार सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 

कार्यक्रमको समापन गर्दै होटल व्यवसायी दिलिपराज कार्कीले हरेक वर्षझैँ यस वर्ष पनि पर्यटन दिवस सफलतापूर्वक मनाइएकोमा खुसी व्यक्त गरे । साथै, उनले पर्यटनलाई सभ्य र मर्यादित व्यवहारका साथ प्रवर्द्धन गर्नुपर्ने, र पर्यटकहरूलाई सुरक्षित, सहज र सम्मानजनक वातावरण प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

यस अवसरमा, उपस्थित प्रमुख व्यक्तित्वहरूले पर्यटन क्षेत्रको प्रवर्द्धन र यसको सामाजिक, सांस्कृतिक, तथा आर्थिक महत्त्वबारे आफ्ना धारणा राखेका थिए ।
 

Back to top