×

सप्तरी। सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बिहीबार साँझ सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुहरूको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बसबाट १७ जनालाई सकुशल उद्धार गरी उपचारका लागि पठाइएको छ।

उक्त बस विराटनगरबाट उदयपुरको गाईघाटतर्फ गइरहेको थियो, जब को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट चिप्लिएर नदीमा खसेको हो। साँझ ६ बजे दुर्घटना भएको जनाइएको छ। बसमा चालक, सहचालकसहित १७ जना सवार थिए।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक रेग्मीले बताए। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ भने बसका चालक, सिराहाको लहान नगरपालिका–८ निवासी ३५ वर्षीय चन्दनकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ३५ नम्बर ढोका खुला नभएको र पानीको सतह कम भएकाले बस डुब्न पाएन, जसका कारण मानवीय क्षति हुनबाट बच्न सफल भएको हो। प्रहरीका अनुसार पानीको सतह कम र बहाव नहुँदा उद्धार कार्य छिटो सम्भव भएको हो। हाल बसलाई नदीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ।

Back to top