×

पर्सा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ औराहा पचगावाँ बजारमा हरेक वर्षझैं यस वर्ष पनि जितिया पर्वको अवसरमा महाबिरी झण्डा मेला भव्यताका साथ सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न मेलाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले उद्घाटन गरेका हुन् ।

कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष यादवले मेलाको महत्व र कुस्ती प्रतियोगिताको योगदानबारे चर्चा गरे । उनले भने, “जितिया पर्व महाबिरी झण्डा मेला हाम्रो सांस्कृतिक पहिचान र परम्पराको जगेर्नाका लागि महत्त्वपूर्ण छ । हरेक वर्ष यहाँ आयोजना गरिने कुस्ती प्रतियोगिताले हाम्रो थरुहट क्षेत्रको पुरानो खेलकुद परम्परालाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल र भारतका पहलवानहरूको सहभागिता यस मेलालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने दिशामा अग्रसर रहेको छ । म यो मेलाले सखुवा प्रसौनीको विकास र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पु¥याउने विश्वास गर्दछु ।”

मेलामा विविध कार्यक्रमहरूको आयोजना गरिएको थियो, जसमा कुस्ती प्रतियोगिता, सांस्कृतिक नाच कार्यक्रम, झुलुवा (चर्खा), र खेलकुदका गतिविधिहरू समावेश थिए । थरुहट क्षेत्रको पुरानो ऐतिहासिक बजारका रूपमा परिचित औराहा पचगावाँ बजारलाई थप विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष यो मेलाको आयोजना गरिने गरेको श्री दिपनरायण आदर्श माविका प्रधानाध्यापक शिवनाथ चौधरीले बताए । 

मेलामा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिस्ट महतो, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार चौरसिया, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक विकास शाखा प्रमुख बिनोद यादव, कार्यपालिका सदस्यहरू तथा अन्य निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

मेला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो, जसमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापा, प्रहरी चौकी रंगपुर टाडीका सुरक्षाकर्मीहरू, सशस्त्र प्रहरी बल बागेश्वरी तित्रौनाको टोलीले सुरक्षा व्यवस्था मिलाएको थियो ।

मेलाको मुख्य आकर्षण कुस्ती प्रतियोगिता रहेको थियो, जसमा नेपाल र भारतका दर्जनौं पहलवानहरू सहभागी भएका थिए । भारतको झारखण्ड, दिल्ली, राजस्थान लगायत विभिन्न राज्यहरूबाट आएका प्रसिद्ध पहलवानहरू मौसम अलि, नाकब पोस, जल्लाद पहलवानले कुस्तीमा भाग लिएका थिए भने नेपालका चर्चित पहलवान वसन्त थापा, मेवा थापालगायतले समेत प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । मेलामा पर्सा र बारा जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा दर्शकहरू आएका थिए ।
 

Back to top