×

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारले संविधान संशोधनको कुरा उठाएर मधेसी जनतालाई फेरि पनि झुक्याउन खोजेको आरोप लगाएका छन्। वीरगञ्जमा जनमत पार्टी पर्साले आयोजना गरेको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले यो सरकार फरक विचार भएका दुई दलहरूको मिलनबाट बनेको र यस मिलनले देशलाई विनाशतर्फ धकेलिरहेको दाबी गरे।

डा. राउतले आकाश र जमीनको मेल हुन नसक्ने जस्तै एमाले र नेपाली कांग्रेसबीचको सहकार्य पनि असम्भव भएको बताउँदै, यस्तो असम्भव सहकार्यले देश विनाशको बाटोमा गएको आरोप लगाए। उनले संविधान संशोधनको कुरा उठे पनि त्यसमा मधेसी जनताले विश्वास गर्न नसक्ने बताए।

उनले सरकारलाई मधेसी जनताको अधिकारलाई सम्बोधन गर्न संविधान संशोधन गर्ने बहानामा रातारात छलफल गरी निणर्य गर्ने प्रवृत्ति देखाएको भन्दै आलोचना गरे।

डा. राउतले मधेसी जनताको हक अधिकार सुनिश्चित गर्न अब मुक्तिको आन्दोलन आवश्यक भएको र जनमत पार्टी यस उद्देश्यका लागि मेची–महाकाली यात्रा गर्दै रहेको जानकारी दिए। उनले मधेसी जनताको अधिकारका लागि आन्दोलनमा होमिनुको विकल्प नभएको स्पष्ट पार्दै, संविधान संशोधन, तराई–मधेसका २२ जिल्लालाई समेटेर दुई प्रदेश बनाउने, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, तथा राष्ट्रपति, प्रधानमन्त्री र अन्य संवैधानिक अङ्गहरूमा जननिर्वाचित प्रतिनिधिहरू नियुक्त गर्नुपर्ने माग अघि सारे।

कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पर्सा इन्चार्ज माधव सिंह, केन्द्रीय सदस्यहरू सिपु तिवारी, मुकेश द्विवेदी, शशिकपूर मियाँ, अनीता रौनियार, नेजमा खातुनलगायतले मन्तव्य व्यक्त गरेका थिए। साथै, करीमा बेगमले स्वागत मन्तव्य दिएकी थिइन्।

Back to top