×

वीरगञ्ज । वीरगञ्जका उद्योगी–व्यापारीहरूको टोलीले मङ्गलवार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरी आफ्नो समस्याबारे जानकारी गराएका छन्। उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा रहेको टोलीले पर्सारबारा औद्योगिक क्षेत्रका व्यवसायीहरूलाई सामना गर्नुपर्ने चुनौतीहरूबारे देउवालाई अवगत गराएको हो।

अध्यक्ष अग्रवालसँगै पूर्वअध्यक्षहरू अशोक बैद, प्रदीप केडिया, सुबोध गुप्ता, ओमप्रकाश शर्मालगायतको टोलीले करको दर घटाउनुपर्ने माग राख्दै, भारतले लागू गरेको वस्तु तथा सेवा कर (GST) प्रणालीजस्तै नेपालमा पनि कर संरचनामा सुधार गर्नुपर्ने बताएका छन्। उनीहरूले भन्सार मूल्याङ्कनको जटिल प्रक्रियाबाट जरिवाना लगाउने प्रथा अन्त्य गर्न आग्रह गरे।

व्यवसायीहरूले वास्तविक बिलबीजकका आधारमा भन्सार मूल्याङ्कन गरी मालवस्तुको जाँचपासको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्। साथै, सरकारले अढाई प्रतिशतदेखि १० प्रतिशतसम्मको अग्रिम आयकर लगाउने र चालू आर्थिक वर्षमै फछ्र्योट गर्नुपर्ने नियम व्यवसायीहरूको हितमा नरहेको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले मुद्दामा २५ प्रतिशत धरौटी राख्नुपर्ने नियमले उद्योग संचालनमा समस्या परेको भन्दै दोषी ठहर भएपछि मात्र सजाय र जरिवानाको व्यवस्था गर्नुपर्ने माग पनि गरे।

पूर्वप्रधानमन्त्री देउवाले उद्योगी–व्यापारीहरूको समस्या समाधानका लागि अर्थमन्त्रीसँग कुरा राख्न काठमाडौं आउने सुझाव दिएका छन्। देउवाले उद्योगीहरूको समस्याप्रति सहानुभूति व्यक्त गर्दै समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

Back to top