×

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने दाबी गरेका छन्। वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित आत्माराम ओझा–दुखा सहनी स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका पुराना नेता ओझा र सहनीलाई पार्टीका सपूतको रुपमा स्मरण गरे।

सभापति देउवाले पर्सा जिल्ला नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका रहेको र २००७ सालको क्रान्तिको पहिलो बिगुल यही जिल्लाबाट फुकिएको उल्लेख गरे। उनले पर्सा जिल्लाको विकासका लागि विभिन्न योजनाहरु सञ्चालनमा रहेको र सडक सञ्जाललाई व्यापक विस्तार गरिएको जानकारी दिए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। देउवाले यदि सबै कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढे, भने आगामी सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्नेमा आफू ढुक्क रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले संगठनलाई वडादेखि पालिकासम्म सुदृढ बनाउनु पर्नेमा जोड दिए। उनले संगठनलाई बलियो बनाउन सके मात्र आगामी चुनावमा सफलता हात पार्न सकिने बताए।

मधेस प्रदेश संयोजक कृष्ण यादवले वडा, पालिका, जिल्ला र प्रदेशस्तरको विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने बताउँदै यसले पार्टीको एकता मजबुत हुने र निर्वाचनमा अन्तर्घात तथा पराजयको सम्भावना कम हुने बताए।

उनले पार्टीका उम्मेदवार विरुद्ध कार्यकर्ताहरूले अन्तर्घात गर्ने प्रवृत्तिले कांग्रेसका उम्मेदवारहरू पराजित भएको बताउँदै, हाल आठ जिल्लाका अध्यक्षहरूसँग पार्टी सभापतिले यस विषयमा छलफल गरेको जानकारी दिए।

कार्यक्रममा पर्सा जिल्लाका सभापति तथा मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षत्रीको अध्यक्षतामा भएको थियो। यस अवसरमा केन्द्रीय सदस्य एवं संघीय कानूनमन्त्री अजयकुमार चौरसिया, सहमहामन्त्रीद्वय फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, नगिना यादव, अनिल रूँगटालगायत नेताहरूले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य जिल्ला उपसभापति रामनारायण कुर्मीले गरेका थिए भने सहजीकरण वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरेका थिए।

Back to top