वीरगञ्ज । अनुचित लेनदेन (मिटर व्याज) को आरोपमा पर्सा जिल्लामा एक शिक्षक पक्राउ परेका छन्। बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४, मधवल निवासी हाल वीरगञ्ज वडा नम्बर ११ श्रीपुरमा बसोबास गर्दै आएका गायाप्रसाद चौरसियालाई असोज २ गते पर्सा प्रहरीले पक्राउ गरेको हो।
चौरसियामाथि अनुचित लेनदेन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गर्दै आएको छ। प्रहरीले जानकारी दिएअनुसार, पक्राउ परेका चौरसियालाई अभद्र व्यवहारको मुद्दामा पर्सा जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ।
चौरसियामाथि बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ का आत्मा प्रसाद चौरसिया, वीरगञ्ज वडा नम्बर १५ भेडियाहीका राधेश्याम सर्राफ, र बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ गर्दौलकी बिन्दा देवी कुर्मीसहित दर्जनौं पीडितले मिटर व्याजमा फसाएको आरोप लगाएका छन्।
मिटर व्याज किसान मजदुर आन्दोलनका वीरगञ्ज महानगर अध्यक्ष शम्भु यादवका अनुसार, चौरसियाले २०७४ सालमा आत्मा प्रसाद चौरसियाबाट १६ कठा १० धुर जग्गा पास गरि २० लाख ऋण दिएका थिए। पीडित आत्मा प्रसादले बताउँदा अनुसार, उनले ब्याज वापत ८ लाख तिरे पनि चौरसियाले उक्त जग्गा अरूलाई बेचेको आरोप छ।
यस्तै, राधेश्याम सर्राफलाई २०५६ सालमा १० कठा १५ धुर जग्गा पास गरि २ लाख ऋण दिएकोमा उनले ब्याज स्वरूप ४ लाख बुझाइसकेको दाबी गरेका छन्। सर्राफका अनुसार, नेपाली काँग्रेस नेता (कानुनमन्त्री) अजय चौरसियाको घरमा बसेको पञ्चायतीले ४ लाख ४७ हजार रुपैयाँमा विवाद टुंग्याउने निर्णय गरे तापनि चौरसियाले पञ्चायतीको निर्णय विपरीत गएर आफ्नो जग्गा फिर्ता नगरेको बताएका छन्।
त्यस्तै, बिन्दा देवी कुर्मीसँग पनि ५ कठा जग्गा पास गरि ५० हजार ऋण दिएकोमा हालसम्म पनि उनले जग्गा फिर्ता नगरेको कारणले उनी पनि मिटर व्याजको पीडित बनेकी छन्।
गायाप्रसाद चौरसिया हाल वीरगञ्ज वडा नम्बर १५, भिस्वास्थित सामुदायिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ।
पर्सा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।