×

वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सीके) राउतकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन दिएकी छिन्। बिहीबार ललितपुरको इमाडोल प्रहरी प्रभागमा पुगेकी रानीको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

रानीले आफ्नो श्रीमान सीके राउतबाट असुरक्षित महसुस गरेको भन्दै प्रहरीमा सुरक्षा माग गरेकी थिइन्। प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले निवेदन दर्ता गर्न आदेश दिएको भए पनि निवेदन अझै दर्ता भएको छैन। रानीले भनेकी छिन्, "श्रीमान्ले मलाई विभिन्न प्रकारका धम्की र बच्चाहरूलाई अलग गरिदिने धम्की दिइरहेका छन्। त्यसैले, मैले असुरक्षित महसुस गरी प्रहरीमा निवेदन दर्ता गर्न गएकी थिएँ, तर निवेदन दर्ता गरिएको छैन।"

प्रहरीले निवेदन अध्ययन गर्न भन्दै उनलाई शुक्रबार पुनः बोलाएको बताइएको छ। राउत र उनकी श्रीमती हाल एकै भवनको अलग-अलग तलामा बस्दै आएका छन् भने उनका तीन सन्तान (एक छोरा र दुई छोरी) पनि रानीसँगै बसिरहेका छन्।

अध्यक्ष राउतले पनि यसअघि प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए। उनीहरूले एकअर्कासँग सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ। राउतले "अंश सम्बन्ध विच्छेद" शीर्षकमा अदालतमा रिट दायर गरेका छन्। यद्यपि, रानीले भने सन्तानका कारण श्रीमानलाई छाड्ने मनस्थितिमा नरहेको बताएकी छिन्।

उनले भनेकी छिन्, "सन्तानहरू नाबालिग छन्, उनीहरूलाई आमा-बुवाको माया आवश्यक छ। म अंश लिएर सन्तानलाई छाड्न सक्दिन।" साथै, उनले राउतले उनलाई अमेरिकादेखि विभिन्न मानसिक र शारीरिक यातना दिएको आरोप लगाएकी छिन्।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, केही दिनअघि अध्यक्ष राउतले पनि श्रीमतीबाट असुरक्षित महसुस गरेको भन्दै निवेदन दिएका थिए। सिन्धु रानी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन्, जसको माइत भारतको पुर्णिया जिल्लामा रहेको छ। अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद हुन्।

Back to top