वीरगञ्ज । पर्साका ग्रामिण क्षेत्रमा बाघ लगायतका जंगली जनावरको आतंकका बारेमा प्रदेश सभा सदस्य शंकर चौधरीले ध्यानाकर्षण गराएका छन् ।
पर्सा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीले बुधवारको प्रदेश सभा बैठकमा शुन्य समयमा बोल्दै बाघ, हात्ती लगायतका जंगली जनावरको आतंकबाट जनतालाई मुक्त गर्न माग गरेका छन् ।
पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका लगायतका ग्रामिण क्षेत्रमा हात्तीको आतंकले जनता त्राहिमाम भएको हुँदा सुरक्षाको व्यवस्था गर्न उनले आग्रह गरेका छन् ।
भदौ ७ गते मात्रै पर्साको जिराभवानी गाउँपालिका एक जनालाई बाघले आक्रमण गरेको घटना पनि उनले प्रदेश सभाको बैठकमा सुनाए । प्रत्येक वर्ष बाघले आक्रमण गर्ने तथा अन्नबाली सखाप पार्ने जस्ता घटना भएपनि प्रदेश सरकारले कुनै पहल नचालेकोमा उनको आपत्ती छ ।