×

सिरहा । मधेश प्रदेशको माओवादी केन्द्रमा देखिएको संगठनात्मक चुनौतीलाई लिएर अध्यक्ष प्रचण्डसहित पार्टीका उच्च नेतृत्व पदाधिकारीहरु गहन छलफलमा जुटेका छन्। माओवादी केन्द्रको खस्कँदो संगठनात्मक अवस्थालाई सुधार्न अध्यक्ष प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा व्यापक चासो रहेको छ।

पछिल्लो समयमा नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले असन्तुष्ट माओवादी नेता कार्यकर्तालाई व्यवस्थापन गरिरहेको अवस्थामा, माओवादी पार्टीभित्रैबाट नेता र कार्यकर्ताहरुको असन्तुष्टि झनै प्रकट हुँदै गएको छ। पछिल्लो १ वर्षको अवधिमा माओवादी केन्द्रकै उच्च तहका नेताहरुका अनुसार ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन्।

विशेषगरी महोत्तरी जिल्लामा एमालेको संगठनात्मक स्थितिमा माओवादी छाडेर आएका नेताहरुलाई बलियो जिम्मेवारी दिइएको उदाहरण प्रस्तुत छ। महोत्तरीको उत्तरी क्षेत्रमा एमालेले माओवादीवाट प्रवेश गरेका नेता वलिराम यादवलाई नेतृत्व दिएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रिएका छन्। बर्दिवासदेखि सम्सीसम्म एमालेले माओवादीका भूतपूर्व नेताहरुलाई संगठित गर्दै आएको देखिन्छ।

माओवादीको संगठनभित्र गुटबन्दी र आन्तरिक कलह नै कमजोर हुने मुख्य कारण रहेको केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले बताए। बैठकमा यी विषयको निर्मम समीक्षा गरिने र अध्यक्ष प्रचण्डले छलफलबाट निष्कर्ष निकाल्ने उल्लेख गरिएको छ।

मधेश प्रदेश इन्चार्ज गणेश साहले पार्टीमा नेतृत्वको कमजोरी स्वीकार गर्दै अब दोषारोपणको साटो मैदानमा काम गर्नुपर्ने बताए। यसैबीच, महोत्तरी इन्चार्ज राजु खड्काले पनि पार्टी कमजोर हुनुमा नेताहरुकै जिम्मेवारी रहेको उल्लेख गर्दै गुटबन्दी र आन्तरिक मतभेदलाई समाधान गर्नेतर्फ छलफल आवश्यक रहेको बताए।

मधेशमा माओवादी केन्द्रको संगठनलाई पुनः सशक्त बनाउन अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरु बर्दिवास रिसोर्टमा आयोजित बैठकमा गहन छलफलमा जुटेका छन्।

Back to top