बारा। बारा जिल्लाका ११० वटा कृषि सहकारी संस्थाहरूलाई साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले ३५ दिने सूचना जारी गरेको छ। संघले सम्पर्कमा नआएका संस्थाहरूलाई सदस्यता खारेजको चेतावनी दिएको छ। संघका अध्यक्ष मिश्रिलाल सहनीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
साना किसान कृषि सहकारी संघले ३ देखि ५ वर्षसम्म कुनै सम्पर्कमा नआएका, नवीकरण नगरेका र कुनै पनि सहकारी गतिविधिमा सहभागी नभएका संस्थाहरूलाई सूचना जारी गरेको हो। अध्यक्ष सहनीले जारी गरेको सूचनामा ३५ दिनभित्र सम्पर्कमा आएर नवीकरण गर्न भनिएको छ। यदि यस अवधिभित्र संस्थाहरूले सम्पर्क नगरेको खण्डमा उनीहरूको सदस्यता खारेज गरिने जानकारी गराइएको छ।
अध्यक्ष सहनीका अनुसार केही सहकारीहरूले कुनै कारोबार नगरेका, नियमित कार्यक्रमहरूमा सहभागिता नजनाएका र वार्षिक साधारण सभामा पनि उपस्थित नभएका कारण संघ सञ्चालनमा समस्या उत्पन्न भएको छ। सहनीले भने, "यस्ता सहकारीहरूलाई सदस्य राख्दा संघका निर्णय प्रक्रियामा कोरम नपुग्ने समस्या भएको छ।"
संघमा रहेका ११० वटा सहकारी संस्थाहरू लामो समयदेखि सम्पर्कमा नआएको र कुनै कार्यक्रमहरूमा सहभागी नभएको अवस्थामा संघले उनीहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो। यसका साथै, संस्थाहरूको नाममा रहेको शेयर संघले आम्दानीको रूपमा प्रयोग गर्ने निर्णय समेत गरिएको छ।
संघका प्रबन्धक नवीन चौधरीका अनुसार जमुनीमाई कृषि सहकारी संस्था लि. खोपवा, उत्पादनशील कृषि सहकारी संस्था लि. निजगढ, औराह पशुपालनन कृषि सहकारी संस्था लि. जीतपुरसिमरा ४ बारा लगायत ११० वटा संस्थाहरू सम्पर्कमा नआएको बताइएको छ।
संघले वार्षिक १ हजार ५ रुपैंया नवीकरण शुल्क निर्धारण गरेको छ भने संघमा १५७ वटा कृषि सहकारी संस्थाहरू सदस्य रहेका छन्।
सम्पर्क नगर्ने सहकारी संस्थाहरूको सदस्यता खारेज गरिने – संघले स्पष्ट पारेको छ कि सूचनाको म्यादभित्र सम्पर्कमा नआएका सहकारीहरूको सदस्यता खारेज गरी, उनीहरूका शेयर संघको आम्दानीमा परिणत गरिनेछ।