×

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बिजबनियामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ‘जनतासँग जसपा नेपालको चार महिना आधारभुत संगठन निर्माण अभियान’ को क्रममा बिजबनियामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । 

नेकपा एमालेका युवा नेता धनन्जय यादवको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौ व्यक्ति जसपा नेपालमा प्रवेश गरेका छन् । यादवकै नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ बढी जसपामा प्रवेश गरेका हुन् । धनन्जय यादवसँगै मन्टु यादव, रितेश यादव, सहरुम गद्दी लगायतका नवप्रवेशीहरुलाई फूलमाला र अबिरले पार्टीमा स्वागत गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रिय महासचिव एवम् मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले जनतामा छाएको चरम निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिए । नेकपा एमाले, कांग्रेस लगायतका दलहरुले जनताका आवश्यक्ता र चाहनालाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थमा लिप्त भएको राउतको आरोप छ । ठूला दलहरुले जातीका नाममा राजनीति गरीरहेको उनको टिप्पणी छ । जसपा नेपालबाट विभाजित भएको जसपाले अहिले पद र प्रतिष्ठा पाएपनि आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उनको भनाई छ । 

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले जनताको घरघरमा पुगेर जनताका समस्या र मुद्दालाई समाधान गर्न आग्रह गरेका छन् । नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीका एजेण्डा र विचारधारा जनतालाई सरल ढंगले बुझाउन अनुरोध गरेका छन् । 

कार्यक्रमलाई मधेश प्रदेशका पूर्व मन्त्री सिंहासन साह कलवार, जसपा नेपाल पर्साका सचिव तबरेज अहमद लगायतले सम्बोधन गर्दै पार्टीको संगठत सुदृढीकरण र विस्तारमा जोड दिएका थिए । 
यो अभियान निरन्तर रुपमा चल्ने र यसले पार्टीका विचारधारा जनतालाई बुझाउन तथा जनताका समस्या सुन्न सघाउ पुग्ने जसपा नेपाल पर्साका सचिव तबरेज अहमदले बताए । आगामी दिनमा जिल्लाका सबै ठाउँमा अभियानलाई निरन्तरता दिने उनले बताए । कार्यक्रमको सहजीकरण अन्सारुल मियाले गरेका थिए । 
 

Back to top