नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ ।
यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २० मंसिर २०७९ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले १८ असार २०८० मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक सोमबार प्रतिनिधि सभाले पनि पारित गरेको हो ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
अब यो विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाइन्छ ।
त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।