×

वीरगञ्ज । पर्सा जिल्लाका १४ वटा पालिकामध्ये हालसम्म सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार सखुवाप्रसौनीले नगररगाउँ सभा र आवश्यक प्रक्रिया पूरा गरी बजेट निकासा पाएको हो।

तर, बाँकी १३ वटा पालिकाहरूले नगररगाउँ सभा सम्पन्न गरे पनि बजेट निकासाको लागि आवश्यक विवरण अद्यावधिक नगरेको कारणले ती पालिकाहरूको बजेट निकासा हुन सकेको छैन।

यसै क्रममा, वीरगञ्ज महानगरपालिका, पोखरिया, पर्सागढी लगायतका नगरपालिकाहरूले नगररगाउँ सभा सम्पन्न गरे पनि वडा र नगरस्तरीय योजनाको बजेट विनियोजनको विवरण मन्त्रालयमा पेश नगरेका कारण कोलेनिकामार्फत बजेट निकासा रोकिएको छ।

बजेट निकासा नहुँदा यी पालिकाहरूका स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। वीरगञ्ज महानगरपालिकाका स्थायी कर्मचारीहरूको चालू आवको तलब रोकिएको छ भने करार र दैनिक ज्यालादारी कर्मचारीहरूले गत जेठदेखि नै तलब पाएका छैनन्।

पोखरिया नगरपालिकामा पनि स्थायी कर्मचारीहरूको तीन महिना र करार तथा ज्यालादारी कर्मचारीहरूको सात महिनाको तलब बाँकी रहेको जनाइएको छ।

अवकाश पाएका कर्मचारीहरूको पनि उपदान बापतको रकम निकासा नहुँदा समस्या भएको छ। वीरगञ्ज महानगरपालिकाले फ्रीज भएको बजेट मन्त्रालयलाई फिर्ता गरेपछि मात्र नयाँ बजेट निकासा खुल्ने बताइएको छ।

बजेट निकासा रोकिँदा पालिकाहरूमा विकास निर्माणका कार्यहरू समेत प्रभावित भएका छन्। पालिकाहरूले समयमा नै आवश्यक विवरण पेश नगर्दा जनताले अनुदान सहयोगबाट वञ्चित हुने अवस्था आएको छ।

Back to top