वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि मिडियाले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यक्ता औँल्याए । वीरगञ्जमा स्थापित न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले मधेशलाई मधेशका जनताका आवाजलाई मिडियाले उठान गरेर मूलधारमा लैजानुपर्नेमा जोड दिए ।
मधेश प्रदेश सरकार मिडियामैत्री सरकार भएको दाबी गर्दै उनले सात वटै प्रदेशको तुलनामा मधेश प्रदेशले नै प्रदेश स्तरिय मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण गठन गरिएको स्मरण गराए । यसका अलावा प्रदेशमा दर्ता भएका पत्रकारहरुको आगामी आर्थिक वर्षदेखि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख बराबरको दुर्घटना बिमा गर्ने योजना रहेको पनि उनले सुनाए । साथै पत्रकारका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था मिलाएको पनि उनले अवगत गराए ।
संघ सरकारले प्रदेशलाई अधिकारसम्पन्न नगराउँदा काम गर्न असहज भएको अनुभव पनि उनले सुनाए । उनले भने, ‘हामीलाई सात वर्ष हुँदा सम्म पनि संघ सरकारले अधिकार दिएको छैन । तर अब अधिकारै प्राप्त नभएका विषयमा टाउको दुखाउनुभन्दा पनि भएका अधिकारको सदुपयोग गरेर प्रदेशलाई समृद्ध बनाउने कार्यमा हामी लागिरहेका छौँ ।’
वीरगञ्ज देशकै आर्थिक एवम् औद्योगिक नगरी भएको हुँदा यसबाट प्रदेशले लाभ लिने गरी काम गर्नुपर्ने उनको धारणा छ । आर्थिक क्रान्ति गर्नका लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर मधेशलाई समृद्ध बनाउने योजनामा पनि प्रदेश सरकारले काम गरीरहेको उनको भनाई छ ।
न्यूज २४ टेलिभिजनका नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, न्यूज २४ टेलिभिजनका प्रबन्ध निर्देशक अदिश जोशी लगायतको उपस्थिती रहेको थियो ।