×

वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि बैज्ञानिक महाबिर पुन किताब बेच्न देश दौडाहमा छन् । उनी देशका विभिन्न शहरमा पुस्तक बेच्दै आज वीरगञ्ज आएका छन् । 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुन आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न बिहिवार बिहान वीरगञ्ज आएका हुन् । वीरगञ्जको घण्टाघरमा उनले प्रति किताब ७ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । अहिलेसम्म लगभग ७५ हजार भन्दा धेरै किताब बिक्रि भइसकेको उनले बताए । 

वीरगञ्जमा कृषि औजार कारखानालाई सञ्चालन गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन् । सुदूरपश्चिमको महेन्द्र नगरबाट आफू दाङ, बुटवल, चितवट, हेटौडा, बारा हुँदै उनी बिहिवार बिहान वीरगञ्ज आएका हुन् । उनले  भने, ‘यो देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले मेरो किताब किनेमा मात्रै करिब १६ करोड जति संकलन हुनेछ । त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ ।’ 

आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए । ‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ,’ उनले भने, ‘जीवनका गोरेटोमा आउने मोडहरूमा मैले के–के गरे, कसरी अमेरिका पढ्न गए र कसरी अगाडि बढे भन्ने कुराहरू यो किताबमा छ ।’

कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए । हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेका छन् । नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६÷७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुन सक्ने उनको भनाई छ । 
 

Back to top