धनुषा । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८, डुमरियामा रहेको सहिद सूर्यनाथ रान स्मृति अस्पताललाई सञ्चालनमा ल्याउन स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ। मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूबाट आवश्यक सामग्री अस्पतालमा पठाइएको हो।
प्रमुख मन्त्री सतिशकुमार सिंहले करिब १४ वर्षदेखि बन्द रहेको यो अस्पताललाई शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। उनले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रै, अस्पतालमा स्वास्थ्य सेवा पुनः सञ्चालन गर्नका लागि आवश्यक उपकरण तथा औषधिहरू पठाइएका छन्।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, र प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक स्वास्थ्य सामग्री डुमरिया अस्पतालमा पठाएका छन्। यस कदमले स्थानीय बासिन्दालाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने आशा गरिएको छ।
प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. सञ्जय ठाकुरका अनुसार अस्पताल सञ्चालनमा आवश्यक परिमाणका उपकरण र औषधि अस्पतालमा पुर्याइसकिएको छ, र चाँडै नै स्वास्थ्य सेवा सुचारु हुनेछ।