वीरगञ्ज । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मौनयुद्ध हाल सामाजिक सञ्जालमा चर्चा बन्दै गएको छ।
दुवै नेताका समर्थकहरूबीचको तीव्र आरोप–प्रत्यारोपको कारणले सामाजिक सञ्जालमा 'अनफलो अभियान' समेत सुरु भएको छ। विशेष गरी बालेनका समर्थकहरूले प्रधानमन्त्री ओलीलाई अनफलो गर्न आह्वान गर्दै आएका छन्, जसले गर्दा ओलीले हालसम्म झन्डै एक लाख फलोअर्स गुमाइसकेका छन्।
यस विवादको सुरुवात भने केही समयअघि नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखा शर्मालाई बालश्रमको आरोप लागेपछि भएको थियो। शर्मामाथि कारबाही नभएको भन्दै बालेन्द्रले कडा असन्तोष व्यक्त गरेका थिए।
उनले फेसबुकमा पोस्ट गर्दै सरकारप्रति असन्तुष्टि जनाए, तर सो पोस्ट हटाइएको आरोप लगाएका थिए। बालेन्द्रको पोस्ट हटाइएको विषयले विवादलाई थप बल दिएको छ। उनले पुनः अर्को स्टाटस लेख्दै दोषीलाई कारबाहीको माग गरेपछि उनका समर्थकहरूले ओलीविरुद्ध आक्रोश पोखेका छन्।
यो विवाद नयाँ भने होइन। दुई वर्षअघि ओलीले बालेन्द्रलाई तबला उपहार दिएका थिए, तर हाल दुवैबीचको सम्बन्धमा दूरी बढेको देखिन्छ। विशेषगरी काठमाडौंको नयाँ सडकको विवाददेखि सिंहदरबारमा आगो लगाउने धम्की जस्ता मुद्दाहरूले दुवै पक्षबीच दूरी थपिएको छ।
यो मौनयुद्ध औपचारिक रूपमा कुनै पनि पक्षले स्विकारेका छैनन्, तर दुवैको फेसबुक पोस्ट र प्रतिक्रियाले परिस्थिति स्पष्ट पार्दै लगेको छ। समर्थकहरूबीचको यो किचलोले दुवै नेताको आगामी राजनीतिक सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने देखिएको छ।