बारा । सिमरा–काठमाडौं हवाई रूटमा भाडा दरमा कमी आएको छ। निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले यात्रुलाई आकर्षित गर्ने होडमा यो रूटको हवाई भाडा घटाएका हुन्। पछिल्लो समय सिमरा विमानस्थलमा उडानहरूमा हुने घण्टौंको ढिलाइले यात्रुहरूलाई हैरान बनाएपछि अनटाइम सेवा प्रदान गर्दै यात्रुहरूको विश्वास जित्न प्रयास भइरहेको छ।
यति एयरलाइन्सले सिमरा–काठमाडौं एकतर्फी भाडा दरमा ५१५ रुपैयाँ र काठमाडौं–सिमरा ४३० रुपैयाँ घटाएको छ। यति एयरलाइन्सका सिमरा स्टेशन प्रमुख दामोदर तिवारीले अनटाइम सर्भिससहित यात्रुहरूको सन्तुष्टिलाई उच्च प्राथमिकता दिने दाबी गर्दै भाडा दरमा गरिएको छुट यात्रुहरूलाई आकर्षित गर्न महत्वपूर्ण रहेको बताए।
अर्कोतर्फ, बुद्ध एयरले पनि यात्रुहरूको चापलाई मध्यनजर गर्दै भाडा दरमा १६० रुपैयाँ कटौती गरेको छ, जसका कारण नयाँ भाडा दर ३,६०० रुपैयाँ कायम भएको छ।
सिमरा विमानस्थलका प्रमुख सूर्यबहादुर खडकाले निजी विमान कम्पनीहरूले सरकारद्वारा निर्धारित न्यूनतम भाडा दरको आधारमा यात्रुहरूलाई छुट दिएर सेवा प्रदान गर्न सक्ने बताए। साथै, विमानस्थलमा यात्रु र विमानका लागि सुरक्षा तथा सुविधाका पूर्वाधार थप्न प्राधिकरणले निर्माण कार्यलाई तीव्रता दिएको जानकारी गराए।
यस भाडा कटौतीले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगी, व्यवसायीहरू, साथै बारा, पर्सा, मकवानपुर र रौतहटका सर्वसाधारणका साथै भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।