वीरगञ्ज । घुसबापतको रकम नदिएपछि वडाअध्यक्षले निवेदनमा हस्ताक्षर नगरेको एक सेवाग्राहीले आरोप लगाएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश साह अग्रवालले सेवाग्राहीसँग ८५ हजार रुपैयाँ घुस मागेको आरोप लागेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी रमेश गुप्ताकाअनुसार कपाली तमसुक प्रमाणित गराउन जाँदा वडाअध्यक्ष अग्रवालले हस्ताक्षर गर्न अस्विकार गरेका छन् । घुस रकम नदिएकै कारण सर्जमिन गराएर रसिद काट्दा पनि वडाअध्यक्ष अग्रवालले कपाली तमसुक प्रमाणितका लागि हस्ताक्षर नगरेको गुप्ताको भनाई छ ।
वीरगञ्ज २८ बस्ने हृदयनारायण महतोलाई वडा कार्यालयमा झिकाउन माग गर्दै गुप्ताले २९ साउन २०८० मा वडा कार्यालयमा निवेदन दिएका थिए । सो निवेदन बुझ्दै वडाअध्यक्ष अग्रवालले हृदयनारायणलाई उपस्थित गराउन परवानीपुर प्रहरी चौकीलई पत्राचार गरेका थिए ।
यही विषयलाई लिएर तमसुक प्रमाणित गराउन ७ माघ २०८० मा रमेश गुप्ता वडा कार्यालयमा पुगेका थिए । निवेदन दिए लगत्तै वीरगञ्ज महानगरपालिकाकी कार्यपालिका सदस्य कनिका कौशिकका पति सुरज कुमार गुप्ता, वडा सदस्य पवन शर्माका छोरा सुरज भान शर्मा, ओमप्रकाश ठाकुर, सुरेश कुमार गुप्ता र दिपेन्द्र कुमार रौनियारले सर्जमिन मुचुल्कामा सही गरेका थिए ।
रामनाथ राउत अहिर साक्षी बसेर रमेश गुप्ताले १८० रुपैयाँको नगद रसिद काटेका थिए । रसीद काटेपछि कपाली तमसुक प्रमाणित गर्न वडाअध्यक्ष अग्रवालले दलाल मार्फत ८५ हजार रुपैयाँ घुस मागेको गुप्ताको आरोप छ ।
यता वडाअध्यक्ष अग्रवालले भने प्रमाण बिना चरित्र हत्या गर्नका लागि हचुवाको भरमा आरोप लगाएको प्रतिक्रिया दिए । उनकाअनुसार निवेदनमै प्रक्रिया पूरा भएको छैन । निवेदनमा साक्षीको नाम मात्रै भएको र हस्ताक्षर नभएको र वडा नम्बर गल्ती भएको वडाअध्यक्ष अग्रवालले यात्राडेलीसँग बताए । घुस मागेको भनेर प्रमाणित गर्न पनि उनले चुनौती दिएका छन् ।