वीरगञ्ज । भाटभटेनी सुपरमार्केटले ग्राहकसँग ठगी गर्ने गरेको प्रमाण फेला परेको छ । सामान खरिद गरेबापत भुक्तानी गर्ने बेलामा ग्राहकले दिएको एटिएम कार्ड वा क्रेडिट कार्डबाट पहिलो पटकमा नआएको भन्दै दुई/दुई पटक खाताबाट रकम निकालेको पाइएको हो ।
ग्राहकको खाताबाट भाटभटेनी सुपरमार्केटको खातामा दुई पटक रकम जम्मा भएको बैंक स्टेटमेन्ट ।
वीरगञ्ज भाटभटेनी सुपर मार्केटमा खरिद गर्न पुगेका एक जना ग्राहकले सामानको भुक्तानी गर्न आफ्नो एटिएम कार्ड दिए । बदनियतबश भाटभटेनीमा काम गर्ने कर्मचारीले ग्राहकको एटिएमबाट दुई चोटी स्वायप गरेर एउटै सामानको दुई पटक भुक्तानी लिए ।
सामान खरिद गरेर घर फर्किसकेपछि ग्राहकले मोवाइलमा आएको एसएमएसबाट दुई पटक रकम झिकिएको जानकारी पाए । त्यस लगत्तै उनले भाटभटेनीको टेलिफोन नम्बर ०५१५९२०९१ मा एक सातासम्म पटकपटक खबर गरेर रकम फिर्ता गर्न आग्रह गरे । उनको आग्रहलाई भाटभटेनीले बेवास्ता गरेपछि ग्राहकले बैंक स्टेटमेन्ट निकाले । जसमा दुई पटक रकम झिकिएको स्पष्ट उल्लेख गरिएको छ ।
भदौ ७ गते साँझ पाँच बजेर २५ मिनेटमा पहिलो पटक ग्राहकको खाताबाट २ हजार ५९४ रुपैयाँ निकालिएको छ । त्यस्तै पुनः त्यसकै दुई मिनेट पछि पाँच बजेर २७ मिनेटमा पनि खाताबाट त्यति नै रकम २ हजार ५९४ रुपैयाँ निकालिएको ग्राहकले निकालेको बैंक स्टेटमेन्टमा उल्लेख छ ।
रकम दुई पटक निकालिएको भनेर भाटभटेनीमा पटकपटक गुनासो गर्दा पनि कुनै सुनुवाई नै भएको छैन । रकम निकालिएको आज एक साता बितिसक्दा पनि र पटकपटक गुनासो गर्दा पनि रकम फिर्ता भएको छैन ।
यात्रा डेलीले यस विषयमा भाटभटेनी सुपरमार्केटका प्रतिनीधि गिरिधर पौडेलसँग सम्पर्क गर्दा उनले यसमा भाटभटेनीको नभई बैंकको त्रुटी रहेको प्रतिक्रिया दिए । यद्यपी बैंकबाट प्राप्त स्टेटमेन्टमा भने दुवै रकम भाटभटेनीकै खातामा गएको स्पष्ट हुन्छ ।
स्टेटमेन्टअनुसार पहिलो पटकको भुक्तानी भाटभटेनी सुपरमार्केट वीरगञ्जको BBSM- BIRGUNJ BIR, NP 445631XXXXXX788 मा र दुई मिनेट पछि BBSM BIRGUNJ Ktn NP 445631XXXXXX788 नम्बरको खातामा २ हजार ५९४ रुपैयाँ दुई पटक जम्मा भएको छ ।
मोबाईल बैंकिगमार्फत दुई पटक एउटै सामानको भुक्तानी भएको बैंकको एसएमएस ।
यसअघि अर्का एक जना ग्राहकको ७ हजार सात सय रुपैयाँ पनि दुई पटक निकालिएको प्रमाण पनि यात्रा डेलीलाई प्राप्त भएको छ । दुई जना प्रतिनीधि पात्र मात्रै भएपनि धेरै जना ग्राहक भाटभटेनीबाट पिडित भएको पाइएको छ । मोबाईल बैंकिगको सुविधा नभएकाहरुले त झनै जति रकम निकालेपनि थाहा नपाउने गरेको एक ग्राहकले नै गुनासो गरे ।