वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अधिकार प्राप्तीका लागि संघर्ष गर्ने थलो सडक मात्रै भएको बताए । संसदबाट अधिकार पाउने आश मरीसकेको हुँदा अब सडकमा संघर्ष गर्नुको विकल्प नभएको अध्यक्ष राउतको भनाई छ ।
जनमत पार्टी पर्साद्वारा वीरगञ्जको ब्रह्म चोकस्थित ओम होटल एण्ड पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले संविधानमा लेखिदैमा निश्चिन्त हुने अवस्था नरहेको बताए । कार्यन्वयनका लागि दबाब दिनुपर्नेमा जोड दिँदै उनले संसदमा बोल्न समेत प्रतिबन्ध लगाइएको बताए ।
दुई दलीय व्यवस्थामा जाने चर्चा चलीरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिनीधि सभा सदस्यसमेत रहेका राउतले देशलाई संकटमा पार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । एमाले र कांग्रेस मात्रै मिलेर देशमा शासन लाद्ने प्रपञ्च रचीरहेको उनको भनाई छ ।
यी ठूला दलले संघीयता शब्द सुन्न नचाहने बताउँदै उनले सबै अधिकार सिंह दरबारमै राख्ने खेल खेलीरहेको आरोप लगाए । मन्त्रीमण्डललाई समावेशी नबनाउने र दलित, सीमान्तकृत समुदायलाई माथि उठ्न नदिने कार्य सह्य नहुने उनको भनाई छ ।
आज पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै उनले जनमत पार्टीमा सबैलाई जिम्मेवारी र स्वाभिमान मिल्ने आश्वासन दिए । क्षमता र योग्यताको मूल्यांकन जनमतमै हुने पनि उनले दाबी गरे ।