×

वीरगञ्ज । देशको वर्तमान परिस्थितीलाई चित्रण गर्ने ‘दिन कटाउनै गाह्रो’ बोलको सन्देशमुलक गीत सार्बजनिक भएको छ । सागर बास्तोलाको शब्दमा चक्रञ्जल परियारको संगीत तथा स्वरमा सजिएको गीतको भिडियो चक्रञ्जलको आफ्नै युट्युबमा सार्बजनिक गरिएको हो । 

नेपालमा जति कमाए पनि दुई छाक खानु बाहेकको उपलब्धी हुन नसकेको हुँदा बिदेशिनु परेको अवस्था यस भिडियोमा देखाइएको छ । नेपालको कमाई अनुसार खर्च धेरै भएको विषयलाई भिडियोमार्फत उठान गरिएको छ भने देशमा विद्यमान भ्रष्टाचार र अनियमितताको विरुद्धमा पनि भिडियोमार्फत प्रहार गरिएको छ । 

गीतको भिडियोमा पनि चक्रञ्जलले नै मुख्य अभिनय गरेका छन् । उनलाई उनका साथीहरुले पनि सहयोग गरेका छन् । भिडियोका मुख्य पात्र चक्रञ्जल विदेश जानु अघि साथीहरुसँग भेटघाट गरेर रमाईलो गरेको पललाई भिडियोमा देखाइएको छ ।

अहिलेको जस्तै अवस्था रहेमा केही समयमा देश खाली हुने संकेत पनि चक्रञ्जलले भिडियोमा गरेका छन् । यद्यपी अहिले नै देशका विभिन्न दुरदराजका गाउँमा युवाको संख्या एकदम थोरै छ । अझै पनि राजनीतिकर्मी एवम् सरोकार वाला निकाय नसुध्रिएमा अझै बिकराल अवस्था आउन सक्नेमा उनले भिडियोमार्फत चिन्ता व्यक्त गरेका छन् । 

बिशाल निरौलाले संगीत संयोजन गरेको गीतलाई रञ्जन राईले अलङ्कार स्टुडियोमा रेकर्ड र मिक्सिंग गरेका हुन् । चर्चित बाँसुरी बादक रत्न वि.क.को बाँसुरीसँगै सञ्जिव बराईलीको गितार र मदन रेग्मीले मादल बजाएका छन् । ए.जे. अजुले छायांकन गरेको भिडियोको इडिट जोह्न राईले गरेका छन् । 

चक्रञ्जलका यसअघि दर्जन बढी गीत सार्बजनिक भइसकेका छन् । समिक्षा अधिकारीसँग चक्रञ्जलले गाएको ‘दुःखै सहुँला’ उनको लोकप्रिय गीत हो । यस्तै मेलिना राईसँगको ‘पानी कुवाको’, प्रबिशा अधिकारीसँगको ‘मल मल चोलीले’, अञ्जु पन्तसँगको ‘तिमी आयौ जिन्दगीमा’, चौतारी, लैजाउ साथैमा, सुनको गजुर, तिमी बिना, तिमी र म लगायतका गीत र भिडियोलाई दर्शकले रुचाएका छन् । 

यसअघिका सृजनालाई रुचाए जस्तै अहिलेको ‘दिन कटाउन गाह्रो’ लाई पनि दर्शकले मन पराउने र माया गर्नेमा गायक तथा संगीतकार चक्रञ्जल विश्वस्त छन् । वर्तमान देशको परिस्थितीसँग मिल्ने र धेरै युवाको साझा कथा भएकाले यसलाई दर्शकले माया गर्ने उनको बुझाई छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top