वीरगञ्ज । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा बंगलादेशजस्तै अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको भए पनि त्यहाँको सरकार दुर्घटनामा परेकाले नेपालमा पनि यस्तै अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।
उनले बंगलादेशको दुई तिहाईको सरकार भएको अवस्थामा प्रधानमन्त्री देश बाहिर भाग्नुपर्ने स्थिति आएको उल्लेख गर्दै नेपालका लागि पनि यस विषयमा सतर्क रहनुपर्ने आवश्यकता औंल्याए।
डा. कोईरालाले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताउँदै भने, "सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने र कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्छ। अहिलेको अवस्थामा सरकार खर्च गरिरहेको छ, तर ठिक ठाउँमा खर्च नगएको देखिन्छ।"
उनले बंगलादेशको उदाहरण दिँदै भने, "बंगलादेशको अर्थतन्त्र ११ प्रतिशतले वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो, तर त्यहाँ प्रधानमन्त्रीले देश छोड्नुपर्ने स्थिति आयो। नेपालमा राजश्व १० देखि ११ खर्ब मात्र उठ्छ, तर चालु खर्च १२ देखि १३ खर्ब हुन्छ। यो अवस्थामा नेपालमा कुनै पनि बेला अस्थिरता उत्पन्न हुनसक्छ।"
डा. कोईरालाले सामाजिक सञ्जालको तीव्र प्रभावलाई पनि चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालले विश्वभर धेरै विसंगति निम्त्याएको बताउँदै नेपालमा पनि त्यसको नकारात्मक प्रभाव पर्नसक्ने चेतावनी दिए।