वीरगञ्ज । सुनचाँदी व्यवसायी संघ पर्साको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रवेश सर्राफले आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्। यसै साउन ३२ गते, शुक्रबार हुने निर्वाचनका लागि सर्राफले आफ्नो प्यानलसहित व्यापक प्रचार अभियान चलाइरहेका छन्।
सर्राफको प्यानलमा रामनरेश प्रसाद, जयप्रकाश सर्राफ, मणीहर्ष शाक्य, लक्ष्मण प्रसाद, हिरालाल सर्राफ, सुरज सर्राफ, गणेश कुमार सोनार, अनिल सर्राफ, विश्वनाथ स्वर्णकार (राजु), प्रदीप कुमार सर्राफ, शुबाष साह सोनार र महिला प्रतिनिधि पूजा देवी छन्।
निरज इन्टरप्राइजेजका प्रोप्राइटर निरज सर्राफ, मुना सर्राफ लगायतका व्यवसायीहरूले पनि प्रवेश सर्राफको प्यानललाई समर्थन गरेका छन्।
प्रवेश सर्राफले आफ्नो चुनावी घोषणापत्र मार्फत सुनचाँदी व्यवसायी संघमा आवद्ध सम्पूर्ण व्यवसायीलाई लागेको दरभाउको शुल्क अबदेखि पूर्ण रूपमा निःशुल्क गर्ने प्रतिवद्धता जनाएका छन्। व्यवसायीहरूको पसलमा भएको सुनचाँदी तथा गरगहनाको डाटा संकलन गरेर तीन महिनाभित्र बिल उपलब्ध गराउने व्यवस्था गर्ने सर्राफको प्रमुख एजेण्डा रहेको छ।
त्यसैगरी, पुरानो गरगहना खरिद गर्दा व्यवसायीहरूले भोग्दै आएको झमेला समाधान गर्न जिल्ला प्रहरी कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने योजना सर्राफले प्रस्तुत गरेका छन्। यसले पुरानो गहना खरिदमा आउने समस्याहरूको अन्त्य गर्ने उद्देश्य रहेको छ।
प्रवेश सर्राफले वर्षमा दुई पटक व्यवसायीहरूलाई भेला गराई नीति, नियम, बिलबिजक, खाता, वही, तथा रेखदेख सम्बन्धी प्रशिक्षण दिने प्रतिवद्धता जनाएका छन्। साथै, संघको वार्षिक साधारण सभा गरेर आर्थिक कारोबार पारदर्शी बनाउने र व्यवसायीहरूको लागि संघको कार्यालयमा एउटा टंच मसिन राख्ने व्यवस्था गर्ने उनको योजना छ।
संघको सम्पूर्ण व्यवसायीहरूलाई सुरक्षित व्यवसाय संचालनका लागि संघको आन्तरिक अनुगमन गरी प्रशिक्षण दिने, र संघको कार्यालयलाई निजी घरबाट सार्वजनिक ठाउमा सार्ने योजना पनि सर्राफको एजेण्डामा समावेश छ।
सर्राफले संघलाई मर्यादित बनाउन सरकारी निकायहरूसँग समन्वय गरी अनुगमनको माईन्युट तयार गरी व्यवसाय संचालन गर्ने वातावरण बनाउने कुरा समेत बताएका छन्। निर्वाचित भएको १०० दिनभित्र व्यवसायीहरूलाई भेला गराई विश्वासको मत लिने र अल्पमतमा परे सल्लाह सुझाव लिइ अगाडि बढ्ने पनि उनले प्रतिबद्धता जनाएका छन्।