×

ढाका । बङ्गलादेशको एक अदालतले ढाकाका एक किराना पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकासम्बन्धी मुद्दामा छानबिनको आदेश दिएको छ । यस मामिलामा मुद्दा दायर गर्नेले बताएअनुसार गएको महिना सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनका क्रममा ती किराना पसलेको हत्या भएको थियो ।

हसिना र अरू ६ जनाविरुद्ध आमिर हमजाले मुद्दा दर्ता गराएका थिए । यस मुद्दामा ढाकास्थित चीफ मेट्रोपोलिटन मजिस्ट्रेट अदालतले सुनवाइको लागि मन्जुरी दिएको छ । आमिर हमजाका वकिल अनवारुल हकले यसबारे जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । 

उजुरीमा सुनवाइ पछि मजिस्ट्रेट राजेश चौधरीको हसिनाविरुद्ध छानबिन गर्न आदेश दिएका हुन् । बङ्गलादेशमा पछिल्ला कयौँ दिनदेखि जारी प्रदर्शनमा भएको हिंसामा सयौँको मृत्यु भएको छ ।

तर यी मृत्युमा हसिनामाथि मुद्दा दायर भएको यो पहिलो पटक हो । यो मामिलामा हसिनाको पार्टी आवामी लिगका महासचिव, पूर्व गृहमन्त्री र केही वरिष्ठ प्रहरी अधिकारीको भूमिकामाथि पनि छानबिन गरिनेछ । 

जुलाई १९ मा प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउने क्रममा किराना पसलका मालिक अबु सइदमाथि गोली लागेको थियो ।

Back to top