बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शिक्षक सरुवाको विषयलाई लिएर मेयर र वडाध्यक्षबिच विवाद हुँदा हात हालाहालको स्थिति सिर्जना भएको छ। घटना मङ्गलवार जीतपुरसिमराको सिमरा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा भएको हो।
स्रोतका अनुसार, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले सिमरा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए। त्यस्तै, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीलाई वडा नम्बर २ स्थित सिमरा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सरुवा गरेका थिए।
तर, मेयर पौडेलको यस निर्णयलाई लिएर वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ असन्तुष्ट भए। वडाध्यक्ष श्रेष्ठले आफ्नो वडामा सरुवा गरिएको शिक्षक मेघराज गिरीलाई पुनः वडा ७ को विद्यालयमा पठाउनु अन्यायपूर्ण भएको दाबी गर्दै विरोध जनाए।
मङ्गलवार, शिक्षक सीता अधिकारी सिमरा नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा हाजिर हुन पुगेपछि वडाध्यक्ष श्रेष्ठ र मेयर पौडेलबिच विवाद चर्किएको हो। वडाध्यक्ष श्रेष्ठले अधिकारीलाई हाजिर हुन रोक्न खोजेपछि, मेयर पौडेल विद्यालयमा पुगेका थिए। मेयरले जबरजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग घम्साघम्सी भएको बताइएको छ।
विवादको स्थिति जटिल हुँदै गएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवी पौडेलले दुवै पक्षलाई नियन्त्रणमा लिएका थिए। वडाध्यक्ष श्रेष्ठले शिक्षक सरुवा सम्बन्धी निर्णयमा आफूसँग सल्लाह नगरी निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका छन्।
घटनापछि स्थानीय स्तरमा तनाव उत्पन्न भएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको छ।