काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेट गर्दै गृह नगर वीरगञ्जस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा रहेको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुगेका मन्त्री यादवले वीरगञ्जको गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महत्वलाई औँल्याउँदै यसको शीघ्र जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता औँल्याएका हुन् ।
छलफलका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै क्षेत्रीय खेलकुद पर्यटनको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । मन्त्री यादवले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका थिए । यसका लागि उनले अर्थ मन्त्रालयसँग समन्वय गर्ने बताएका छन् ।
जवाफमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने विषयमा पनि मन्त्री चौधरी सकारात्मक छन् ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले मन्त्री यादवको प्रयासले नारायणी क्रिकेट मैदानको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गरे ।