जमात-ए-इस्लामी नेता मीर कासिमका छोरा ब्यारिस्टर अहमदले आइना घरमा ८ वर्षसम्म निर्ममता सहे । अहमद भन्छन्, “हरेक दिन उनलाई जीवनको अन्तिम दिन जस्तै महसुस हुन्थ्यो । उनलाई बाहिरी संसारको बारेमा केही थाहा थिएन ।”
विद्यार्थी आन्दोलनका नेतालाई यहाँ ल्याइँदा कैदीले सरकारविरुद्ध केही भइरहेको छ भनी थाहा पाएका थिए । अगष्ट ७ मा ‘ऐना घर’मा सुनिएको ठूलो आवाजले आफूलाई डर लागेको अहमदले बताए । सुरुमा यातना दिनेहरू आएजस्तो लाग्थ्यो, त्यसपछि छिट्टै यहाँबाट मुक्ति मिल्छ भनियो ।
अहमदका अनुसार सुरुमा विश्वास भएन, त्यसपछि एक-एक गरेर कैदीहरू रिहा भए । मेडिकल जाँचपछि रिहा भएर घर पुग्दा परिवारका सदस्यले ‘म जिउँदै छु’ भन्ने पत्याएनन् ।
बंगलादेशमा भएको सत्तापलटपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको पालामा भएका केही अचम्मका कथा बाहिर आएका छन् । हसिना विरोधी नेता, अधिकारी र पत्रकारलाई राजधानी ढाकाको मिरपुरस्थित ‘आइना घर’ नामक गोप्य जेलमा राखिएको थियो ।
सेनाको अनुसन्धान विभागको निगरानीमा सञ्चालित यस कारागारमा ६ सय कैदी थिए । हसिनाले देश छाडेपछि अगष्ट १० सम्म यस कारागारमा १०० जना मात्र कैदी बाँकी थिए । ५०० कैदीको अत्तोपत्तो थिएन ।
प्रतिपक्षी दल बीएनपीको विद्यार्थी सङ्गठन छात्रदलका उपाध्यक्ष मोहम्मद अतीकले ‘आइना घर’ नर्कजस्तो भएको बताए । आइना घरको डरलाग्दो सम्झनाले अझै पनि डर लाग्ने गरेको उनले बताए ।
घण्टौंसम्म उल्टो झुन्ड्याइदिन्थे, नङ चिम्टाले तानिन्थे
ढाकाको मिरपुरमा रहेको आइना घरमा कैदीलाई २० फिट अग्लो पर्खालले घेरिएको थियो । प्रत्येक कोठरीमा तीनजना कैदी राखिएका थिए । यहाँ घामको किरण पर्दैनथ्यो । गोलाकार कालकोठरीका बीचमा एउटा ठूलो मञ्च थियो, जहाँ कैदीलाई अमानवीय यातना दिइन्थ्यो । जुन वर्णन गर्न पनि सकिँदैन ।
बन्दीहरूको नङ चिम्टाले तानेको अतीकले बताए । घण्टौंसम्म उल्टो झुन्ड्याइन्थ्यो । विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका अतीक करिब डेढ महिना जेल बसेपछि अगष्ट ८ मा रिहा भएका थिए ।
हसिना भागेपछि ९ अगस्टमा आइना घरका इन्चार्ज मेजर जनरल जिया उल अहसान देश छोडेर भाग्न खोज्दा ढाका एयरपोर्टमा समातिए । अहसान अहिले सेनाको हिरासतमा छन् ।
विगत ८ वर्षदेखि आइना घरको जिम्मेवारी सम्हालेका अहसानलाई अब कोर्ट मार्शल गरिने भएको छ । अदालतको आदेशबिना कैदीलाई ऐना घरमा लैजाने गरिएको थियो । दैनिक भास्करबाट-