वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अन्तर्गत विद्यालयहरूमा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ ।
प्राप्त जानकारी अनुसार, गत आर्थिक वर्षमा सञ्चालन गरिएको यस कार्यक्रममा वीरगञ्जको विभिन्न विद्यालयहरूमा प्रतिविद्यालय ६ लाख रुपैयाँका दरले कार्यक्रम सञ्चालन भएको थियो ।
विशेष गरी इटियाही प्रावि र सिद्धार्थ मावि लगायतका विद्यालयहरूमा एउटा एलइडी र प्रिन्टर मेशिन वितरण गरेर पुरै बजेट सकिएको तथ्य बाहिर आएको छ । सस्तो र कमसल गुणस्तरका सामग्रीहरू खरिद गरी विद्यालयमा वितरण गरिएपछि बिल बढाएर रकम पचाउने काम भएको पाइएको छ ।
यो मात्र नभई बितेको आर्थिक वर्ष २०८०/८१ मा पनि वीरगञ्ज महानगरभित्रका सामुदायिक विद्यालयमा विभिन्न सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रममा सञ्जय कुर्मी र बृजेश प्रधानले जिम्मेवारी लिएका थिए ।
त्रिजुद्ध मावि, नृसिंह मावि, श्रीपुर मावि, द्वारदेवी मावि अलौ र शारदा माविमा प्रतिविद्यालय १० लाख रुपैयाँ बजेटबाट ७५ इन्चको टिभी, आठ वटा कम्प्युटर र एक वटा ल्यापटप वितरण गरिएको थियो । तर, यसमा पनि कम मूल्यमा सामग्री खरिद गरी बिल बढाएर रकम पचाउने काम भएको प्रमाण भेटिएको छ ।
यस भ्रष्टाचार काण्डले वीरगञ्जका शिक्षा क्षेत्रको विकासप्रति शङ्का उत्पन्न गराएको छ । स्थानीय बासिन्दाहरूले यस विषयमा गहिरो अनुसन्धान गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।