वीरगञ्ज । सचेत नागरिक समाजले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीलाई ध्यानाकर्षण गराएको छ । सोमवार नगर प्रमुख तेलीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेसका युवा नेता राकेश यादवले नगर परिषद् समयमै गर्दा हुने फाइदा र ढिला गर्दा जनताले भोग्नुपर्ने सास्तीका विषयमा प्रकाश पारे ।
यादवको नेतृत्वमा नगरपालिका पुगेको सचेत नागरिक समाजको टोलीले नगर प्रमुख तेलीलाई १२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको छ । आफुलाई निर्वाचनमा मत दिने मतदाता र आफ्ना पार्टीका व्यक्ति भन्ने भ्रमलाई निकालेर सबै नागरिकलाई समान व्यवहार गरी सेवा प्रवाह गर्न पनि ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
समानिकरण नपाइने, बजेट कटौती हुने र खाता सञ्चालन नहुँदा नगरपालिकाबाट हुने विभिन्न खर्चको भुक्तानी, सामाजिक सुरक्षा, पारिश्रमिक, आर्थिक सहयोग जस्ता कार्य रोकिने भएकाले समयमै नगर परिषद् गर्न पनि सचेत गराइएको छ ।
पछिल्लो परिवेशमा मधेशमा पानीका स्रोत सुक्दै गएको अवस्थामा डिप बोरिङ् र ट्युबेललाई मात्रै सिंचाईको आधार नबनाई दीर्घकालिन व्यवस्थापन गर्न माग गरिएको छ ।
सिकाईमा आधारित शिक्षाको व्यवस्था गर्नुका साथै उच्च मा.वि., मा.वि. र आधारभूत विद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्न पनि आग्रह गरिएको छ । १५ शैय्याको अस्पताल निर्माणमा ढिलाई हुनुको कारण माग गर्दै एक स्थानीय तह एक उद्योग ग्रामको स्थापना गर्न माग गरिएको यादवले बताए । स्वास्थ्यमा उपलब्ध हुने ९६ प्रकारका औषधी उपलब्ध नभएको हुँदा नगरपालिकामार्फत अनुगमन गर्न पनि आग्रह गरिएको छ ।