×

वीरगञ्ज । मधेस प्रदेश सरकारको लाखौँको लागतमा निर्माण गरिएको लक्ष्मणवाको तरकारी बजारको सेड संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । चार वर्ष अघि वीरगञ्ज महानगरपालिका अन्तर्गत लक्ष्मणवामा बनाइएको यो सेड हाल पूर्ण रूपले क्षतिग्रस्त अवस्थामा पुगेको छ, जसले स्थानीय जनतामा रोष उत्पन्न गरेको छ ।

महानगरपालिकाको बेवास्ता र लापरबाहीका कारण सो सेड सञ्चालनमा आउनु अघि नै जीर्ण बन्न पुगेको हो । हरियो तरकारीहरूको थोक बजारको रूपमा निर्माण गरिएको उक्त सेडमा ५० लाखभन्दा बढी रकम खर्च गरिएको थियो । निर्माण कार्यको दौरानमा नै सेड भासिन थालेपछि विवाद समेत उत्पन्न भएको थियो ।

लक्ष्मणवाको पूर्व भेडियाही गाउँको पश्चिमपट्टिको ऐलानी जग्गामा निर्माण गरिएको यो सेड तत्कालीन मुख्यमन्त्री लालबाबू राउत गद्दीको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भएकाले पूर्व मुख्यमन्त्री गद्दीले नै यसको शिलान्यास गरेका थिए । तर, निर्माण भएको केही समयपछि नै ढलान भत्किन थालेको, छानाहरू हावाले उडाएको, र सेडको संरचना क्षतिग्रस्त हुँदै गएको स्थानीयहरूले बताएका छन् ।

सेडको संरक्षणमा ध्यान नदिइएपछि अहिले यो स्थान दुर्व्यसनीहरूको अड्डा बनेको छ । वीरगञ्ज महानगरपालिकाले यसबारे कुनै चासो नदेखाएको भन्दै स्थानीयहरूले महानगरप्रति आक्रोश व्यक्त गरेका छन् ।

Back to top