वीरगञ्ज । देशभरका २३ गाउँपालिकामा जनप्रतिनिधिहरु बीचको आपसी टकरावले गाउँसभा हुन नसक्दा गाउँपालिकाका सेवा प्रभावित भएका छन्। गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा सञ्चालन गर्न सकेका छैनन्।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार ४६० गाउँपालिकामध्ये २३ गाउँपालिकाले गाउँसभा गर्न नसकेको तथ्यांक रहेको छ। तीमध्ये मधेश प्रदेशका १९ गाउँपालिकाले गाउँसभा सञ्चालन गर्न असफल भएका छन्। मधेश प्रदेशका पर्सा जिल्लामा ४, बारा जिल्लामा १, सर्लाहीमा २, महोत्तरीमा २, धनुषामा ५, सिरहामा ३, र सप्तरीमा २ गाउँपालिकामा गाउँसभा हुन सकेको छैन।
अध्यक्ष पाण्डेले मधेश प्रदेशमा धेरैजसो गाउँपालिका निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको बताइन्। पाण्डेले भने, "गाउँसभा गर्न नसक्नुका कारण बुझ्न पालिकाहरु घुम्यौँ। प्रशासन नबुझ्ने आयुर्वेदका कर्मचारीलाई गाउँपालिकाको जिम्मा लगाइएको छ। कतै बोल्नै नसक्ने वडा सचिवलाई अधिकृतको जिम्मा दिइएको छ। सामान्य समस्या र विवादमा पनि समन्वय नहुँदा गाउँपालिका अलपत्र भएको पाइएको छ।"
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डेले गाउँसभा हुन नसकेका गाउँपालिकामा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरेकी छन्। उनले शनिबार मुख्यमन्त्री सिंहलाई भेटेर गाउँसभा हुन नसकेका स्थानीय तहमा पहल गरिदिन आग्रह गरिन्। पाण्डेले प्रदेश समन्वय समितिको बैठकलाई नियमित गरी स्थानीय तहमा रहेको विकृति र समस्यालाई समाधान गर्न पनि मुख्यमन्त्रीलाई अनुरोध गरिन्।