वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जका विभिन्न विद्यालयमा वितरण गरेको पंखामा व्यापक अनियमितता भएको छ ।
वीरगञ्ज महानगरभित्रका विभिन्न सामुदायिक विद्यालयमा वितरण गरिएको १६ सय थान पंखामा व्यापक भ्रष्टाचार भएको प्रमाण यात्रा डेलीलाई प्राप्त भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडीस्थित श्री ब्रह्मदेव आधारभूत विद्यालयमा महानगरपालिकाको आर्थिक सहयोगमा पंखा जडान गरिएको छ ।
पंखा वितरणका जिम्मा लिएका व्यक्तिले महानगरको प्रतिनिधित्व गर्दै विद्यालयका प्रधानाध्यापकहरुलाई फोन गर्छन्, ‘म महानगरबाट बोल्दैछु, तपाईको विद्यालयमा पंखा दिनुछ, महानगरको जिन्सी शाखामा आएर माग फारम भर्नुहोला ।’ माग फारम भरे लगत्तै वीरगञ्जकै एक पंखा वितरण गर्ने पसलका प्रतिनीधि विद्यालयमा पुगेर पंखा दिएर फर्किन्छन् ।
कुहडीस्थित विद्यालयमा १० थान पंखा पुगे । जसमध्ये एक थान पंखा मात्रै जडान गरिएको छ । जुन जडान गरिएपनि हावा दिँदैन । यसरी हावा नदिने र तिव्र गतिमा नघुमेपछि पंखा फिर्ता गर्ने भन्दै प्रधानाध्यापक साहेब यादवले अरु पंखा जडान नगरेर यत्तिकै थन्क्याएर राखेका छन् ।
यस्तै कथा वीरगञ्जका अन्य विद्यालयको पनि छ । वीरगञ्जको माइस्थानस्थित एस.के ट्रेडर्सले महानगर भित्रका विद्यालयमा पंखा वितरण गर्ने जिम्मा लिएको छ । विद्युत व्यवसायी संघ पर्साका अध्यक्ष सितारामले लिंक रोडमा पसल सञ्चालन गरेका छन् । उनले दिल्लीबाट पंखा मगाएर आल्मुनियम वाला कवाइल भएको पंखालाई ‘समय’ को नामले ब्राण्डिंग गरेर होलसेलमा बिक्रि गर्छन् । एक.के ट्रेडर्सले पनि उनीबाटै पंखा लिएर बिक्रि गर्ने गरेको छ ।
विद्यालयले आर्थिक वर्ष २०७९/८० मा माग फारम भरेर जिन्सी शाखामा पेश गरे । पंखा जडान भएपछि आर्थिक वर्ष २०८०/८१ मा विद्यालयको खातामा महानगरले पैँसा पठाएको र विद्यालयबाट पसलेले चेक लिएका छन् । केही विद्यालयले चेक दिएका छैनन् । चेक नदिने विद्यालयका प्रधानाध्यापकलाई सरुवा गर्ने धम्की समेत दिएको पाइएको छ ।
सरुवा मात्रै नभएर प्रधानाध्यापकबाटै झरुवा समेत गरिएको छ । त्यसको प्रत्यक्ष उदाहरण हुन् वीरगञ्जको बेलवा प्रसौनीस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक हासिम अन्सारी । गुणस्तरहिन पंखाको चेक कसरी दिने भनेर प्रश्न गरेकै कारण आफुलाई प्रधानाध्यापकबाट झारिएको अन्सारीले यात्रा डेलीसँग गुनासो गरे ।
यस्तै माइस्थान विद्यापिठ विद्यालयमा एक सथान पंखा लगिएको छ । वीरगञ्जका प्रायः सबै जासे सामुदायिक विद्यालयमा आवश्यक्ताअनुसारको पंखा वितरण गरिएको छ ।
पंखाले हावा नदिएको र राम्रोसँग नघुेको गुनासो गर्दा सिधै मेयरसँग कुरा गर्नु भन्दै पसलवाला पन्छिएको विद्यालयका प्रधानाध्यापकहरुले बताए । बजार मूल्य अनुसार एक पिस पंखा खरिद गर्दा १४ सय देखि १६ सय रुपैयाँसम्म आउने पंखालाई बिलमा ३१ सय रुपैयाँ देखाएर १६ सय पंखामा व्यापक भ्रष्टाचार भएको तथ्य उजागर भएको हो ।
माइस्थानको एस.के. ट्रेडर्ससँगै भिस्वास्थित थापा कन्र्सनको नाममा विद्यालयमा बिल गएको छ । जसमा कमसल पंखाको मूल्य ३१ सय रुपैयाँ उल्लेख छ । यात्रा डेलीलाई प्राप्त स्रोतकाअनुसार एस.के. ट्रेडर्सका सञ्चालक वीरगञ्ज महानगरपालिकाका एक वडा अध्यक्षका भाई हुन् भने थापा ट्रेडर्सका सञ्चालकको पनि महानगरसँग राम्रो पहुँच भएका व्यक्ति हुन् ।
एस.के ट्रेडर्स वीरगञ्जको माइस्थानस्थित बाल कल्याणको पूरानो कार्यालय रहेकै भवनमा सञ्चालनमा छ । यसअघि वीरगञ्ज दरबार नामक होटललाई महानगरले भवनबाट खाली गराएपनि उक्त भवनमा अहिले एस.के. ट्रेडर्स मात्रै सञ्चालनमा हुनु आफैमा रहस्यमय छ ।