×

वीरगञ्ज । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम तीव्र रूपमा बढेको छ। घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ वटा उद्योग महिला उद्यमीको नाममा दर्ता भएका छन्, जबकि सोही अवधिमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन्।

महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने सरकारी प्रावधानका कारण महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो। कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार, छुटको सुविधा पाइने भएकोले महिलाहरू उद्यमशीलतामा अग्रसर भई दर्ता गर्ने संख्या बढ्दै गएको छ।

विगतमा महिला उद्यमीको नाममा उद्योग दर्ता गर्ने चलन खासै थिएन, तर अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमीको नाममा उद्योग दर्ता गर्ने क्रम उल्लेखनीय रूपमा बढेको सिंहले जानकारी दिए। तथापि, पुरुषकै स्वामित्वमा रहेका उद्योगहरूको संख्या अझै धेरै रहेको छ।

आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए, जसमा चार सय ५० उद्योग महिला उद्यमीको नाममा र ६ सय ५४ उद्योग पुरुष उद्यमीको नाममा थिए।

नयाँ दर्ता भएका उद्योगहरूले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ, जसमा तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ।

आव २०७९/८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गरेको र एक करोड ६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

Back to top