×

वीरगञ्ज। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल घटाउँदा पनि प्राधिकरण निरन्तर नाफामा रहेको बताएका छन्। उनले आफ्नो तीन वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै, प्राधिकरणले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता आफ्नो वित्तीय स्थिति सुधार गर्दै आएको छ। आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।

कुलमान घिसिङले विद्युत महसुल तीन पटकसम्म घटाएर करिब २५ प्रतिशत कम गरे पनि प्राधिकरणको नाफा बढिरहेको बताए। प्राधिकरणका करिब ५९ लाख ग्राहकहरूमध्ये २२ लाख ग्राहकलाई न्यूनतम ३० रुपैयाँ शुल्कमा ऊर्जा निःशुल्क उपलब्ध गराइएको छ। साथै, सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको र लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने तथा इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको जानकारी दिए।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको पनि घिसिङले उल्लेख गरे। विगत ८ वर्षमा प्राधिकरणले करिब एक खर्ब रुपैयाँ पूँजीगत लगानी गर्न सफल भएको र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए।

प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। साथै, प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत सम्पत्तिको वास्तविक मूल्यांकन गर्दा सम्पत्तिमा अझ वृद्धि हुने देखिएको उनले बताए। देशभर रहेको जग्गाको पहिचान गरी करिब ४० हजार २ सय रोपनी जग्गाको सूचीकरण गरिएको छ भने, काठमाडौं उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको जानकारी पनि घिसिङले दिए।

प्राधिकरणले महसुल घटाउँदै पनि नाफा बढाउन सफल हुनु प्राधिकरणको कुशल व्यवस्थापन र वित्तीय अनुशासनको प्रतिफल भएको बताइएको छ।

Back to top