वीरगञ्ज । वीरगञ्जमा छायांकन भएको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्बजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर बिहिवार सार्वजनिक भएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।
ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।
एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनु पर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।
रमित ढंगानाले निर्माण तथा निर्देशन गरेको चचित्रमा तेजाब आक्रमण भएकी वीरगञ्जकी मुस्कान खातुनको कथावस्तु पनि यसमा समावेश छ । उनीसँगै देशका अन्य ठाउँमा भएका एसिड आक्रमणका घटना पनि समावेश गरिएको चलचित्रका उत्पादन प्रबन्धक आरजे प्रणबले जानकारी दिए ।
चलचित्रको ट्रेलरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल पनि देखिएका छन् । योसँगै चलचित्रमा वीरगञ्जको घण्टाघर, माइस्थानस्थित गहवामाई मन्दिर लगायतका दृश्य पनि अटाएको हुँदा यो चलचित्र हेर्न वीरगञ्जबासी पनि उत्साहित छन् ।