वीरगञ्ज । वीरगञ्जमा एक जना प्रहरी सहायक निरीक्षकले कुटपिट गरेर घाइते बनाएको एक महिलाले आरोप लगाएकी छिन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बैष्णोदेवी मन्दिरस्थित स्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक अजय यादवले कुटपिट गरेर घाइते बनाएको वीरगञ्ज १६ निवासी रन्जु देवीले आरोप लगाएकी हुन् ।
सिमावर्ती शहर रक्सौलबाट वीरगञ्जतर्फ अटोमा बसेर आउँदै गरेको अवस्थामा आफुले ल्याएको सामान तस्करीको सामान भएको आशंकामा खोस्न खोज्दा लछारपछार गर्दै कुटपिट गरेर घाइते बनाएको ती महिलाले बताइन् ।
सिभिल ड्रेसमा रहेका प्रहरी सहायक निरीक्षक यादवले पहिला उनले चढेको अटो रिक्सा चेकजाँच गर्दा केही नभेटेपछि तस्करीको सामान कहाँ छ भनेर सडकमै कुटपिट गर्न थालेको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीकाअनुसार तस्करीको सामान लिएर आउँदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा अटोबाट महिला लडेर चोट लागेको हो । प्रहरीले कुटपिट नगरेको दाबी गर्दै उनले प्रहरीले रोकेर सामान लिन खोज्दा महिला लडेर चोट लागेको बताए ।