×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिले गरेको शिक्षक दरबन्दी मिलानमा व्यापक अनियमितता भएको पाइएको छ । १ साउन २०८१ मा बसेको शिक्षा समितिको निर्णय र २ साउन २०८१ को कार्यालयको निर्णय बमोजिम वीरगञ्ज महानगरभित्रका ४३८ शिक्षकको दरबन्दी मिलानमा अनियमितता भएको आरोप लागेको छ । 

जुन दरबन्दी मिलानप्रति अधिकांश शिक्षकहरु सन्तुष्ट छैनन् । नेपाल शिक्षक महासंघले १६ साउन २०८१ मा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णलाई दरबन्दी मिलान सम्बन्धी निर्णय र आवश्यक विवरण माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । 

जसमा दरबन्दी मिलान गर्न गठन गरिएको समिति÷उपसमितिको नाम र निर्णय, दरबन्दी मिलान गरिएको शैक्षिक सत्र, शैक्षिक सत्रको आई ई एम आई एस अनुसारको तहगत र कक्षागत विद्यार्थी संख्या, दरबन्दी मिलानको आधार, दरबन्दी मिलानको नीति र निर्णयसँगै ऐन र नीतिका नीतिगत आधार माग गरिएको नेपाल शिक्षक महासंघ वीरगञ्जका अध्यक्ष प्रदिप कुमार जयसवालले बताए । उनकाअनुसार उक्त विवरण अहिलेसम्म पनि उपलब्ध भएको छैन । 

दरबन्दी मिलान प्रक्रिया र विधि विपरित भएको हुँदा यसमा अनियमितता भएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले यात्राडेलीसँग बताए । उनकाअनुसार शिक्षा समितिका संयोजक लगायत सदस्यहरु र अन्य व्यक्तिहरुको मिलेमतोमा आफ्ना नजिकका व्यक्तिलाई पायक पर्ने स्थानमा सरुवा गरिएको छ भने रिसिबी भएका वा विरोध गर्नेहरुलाई टाढा सरुवा गर्नुका साथै प्रधानाध्यापकबाट झरुवा समेत गरिएको छ । प्रधानाध्यापकको जिम्मेवारीमा रहेका हासिम अन्सारी, रामबालक चौरसिया, नन्दकिशोर गिरी सहित चार जनालाई प्रधानाध्यापकबाट हटाइएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित श्री हरिहर सर्राफ चम्पादेवी आधारभुत विद्यालयका २ जना प्रा.वि.तहका शिक्षकको सरुवा गरिएको छ । फेरी उनीहरुकै स्थानमा अन्यत्रबाट दुई जनालाई सोही पदमा ल्याइनुले दरबन्दी मिलानमा चलखेल भएको आशंका उब्जिएको छ । यति मात्रै नभएर दरबन्दी मिलानमा आशंका गर्ने अन्य धेरै आधारहरु छन् । 

सुरजी देवी मा.वि.बाट उत्तम गुप्तालाई श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा सरुवा गरिएको छ । त्यसैगरी यम आचार्यलाई सबैटारीबाट लालपर्सामा सरुवा गरिएको छ । उनको घर सबैटारीमै पर्छ, अब उनले सरुवा भएको ठाउँमा नगई आफुलाई पायक पर्ने विद्यालयमै बस्नका लागि रकम बुझाउनुपर्ने हुन्छ । 

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुरमा कार्यरत सुमु प्रसाद सोनारलाई हटाएर उनको ठाउँमा रिक्त देखाइएको पत्र पनि यात्रा डेलीलाई प्राप्त भएको छ । यात्रा डेलीलाई प्राप्त विश्वसनीय स्रोतकाअनुसार उनलाई रामवनस्थित विद्यालयमा सरुवा गरिएको थियो । तर उक्त पत्र उनको हातमा भने परीसकेको छैन । विद्यालयका प्रधानाध्यापकले बुझेपनि पछि पुनः उक्त पत्र महानगरले फिर्ता लिएको बुझीएको छ । 

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवकाअनुसार दरबन्दी मिलान शैक्षिक सत्र सुरु हुनु भन्दा अघि वा समाप्त भइसकेपछि गर्नुपर्छ । त्यसमा पनि सबै विद्यालयले अनलाईनमा प्रविष्ट गरेको विद्यार्थी संख्या, शिक्षकको संख्या, विद्यालयको संरचना लगायतलाई आधार मानेर अपुग भएको शिक्षक तथा कर्मचारी मिलान गर्नुपर्ने प्रावधान छ । 

तर वीरगञ्ज महानगरको शिक्षा समितिले प्रावधानको प्रवाह नगरी विधि र व्यवस्थालाई बेवास्ता गर्दै दरबन्दी मिलानको बहानामा शिक्षकहरुलाई सास्ती दिने काम गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष यादवले बताए । दरबन्दी मिलानमा करोडौ रकम असुली गरिएको उनको आरोप छ । यात्रा डेलीसँगको संवादमा उनले भने, ‘कुन प्रक्रियामा टेकेर दरबन्दी मिलान गरिएको हो भन्ने नै हामीले बुझ्न सकेका छैनौ । दरबन्दी मिलान गर्ने एउटा प्रक्रिया छ, तर हचुवाको भरमा आपसी मिलेमतोमा रकम असुल गरेर गरिएको दरबन्दी मिलान हामीलाई स्विकार्य छैन ।’ 

दरबन्दी मिलान गरिएका शिक्षकको सूची पनि महानगरपालिकाले सार्वजनिक गरेको छैन । गोप्य रुपमा विद्यालयका प्रधानाध्यापकलाई बोलाएर पत्र दिइरहेको एक विद्यालयका प्रधानाध्यापकले नाम नबताउने शर्तमा यात्रा डेलीलाई बताए । यद्यपी नेपाल शिक्षक महासंघले भने चिठी पत्र नबुझ्न अनुरोध गरेको छ । प्रक्रिया विपरित हचुवाको भरमा भएको दरबन्दी मिलान मान्य नहुने भन्दै महासंघले महानगरको यस कदमको विरोध गरेको छ । 

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण करिब एक सातादेखि सम्पर्कविहिन थिए । उनको कार्यालयको सम्पर्क नम्बर स्विच अफ छ । उनीसँग कुरा नभएपनि वीरगञ्जकै केही व्यक्तिहरुसँगै उनी भारतको देवघरस्थित वैद्यनाथ मन्दिरमा दर्शन गर्न गएको तस्बिर भने सार्वजनिक भएको छ । 

May be an image of 5 people and temple

चौतर्फी असन्तुष्टी हुँदा पनि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बेवास्ता गरेको शिक्षकहरुको टिप्पणी छ । वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई बेवास्ता गर्दा यसले शिक्षामा नकारात्मक प्रभाव पर्ने शिक्षकहरुको बुझाई छ । केही दिन अघि वीरगञ्ज महानगरपालिकामा प्रधानाध्यापकहरुको बैठकका अवसरमा चिया पिउने क्रममा महानगर प्रमुख सिंहले प्रधानाध्यापकहरुलाई लिएर टिप्पणी गरेका थिए । ‘एसईईको नतिजा प्रकाशन भएको समयमा उनीहरुलाई कसले चिया दियो भन्ने सिंहको अभिव्यक्तिप्रति पनि विद्यालयका प्रधानाध्यापकहरुको आपत्ती छ । 

दरबन्दी मिलानमा भएको अनियमिततामा प्रमुख सिंहको पनि संलग्नता भएको हुन सक्ने आशंका सामुदायिक विद्यालयका शिक्षकहरुले गरेका छन् । अव्यवहारिक रुपमा प्रक्रिया विपरित भएको दरबन्दी मिलानमा मेयर  सिंह मौन बसेको भन्दै संलग्नाको आशंका उब्जिएको शिक्षक महासंघको प्रतिक्रिया छ । 

यता जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले भने प्रक्रिया विपरित भएको दरबन्दी मिलानलाई खारेज गर्ने बताएका छन् । यात्रा डेलीसँगको कुराकानीमा प्रमुख सर्राफले जिल्ला शिक्षा समितिसँग समन्वय गरेर दरबन्दी मिलानलाई खारेज गर्ने बताएका हुन् । उनकाअनुसार शिक्षक सरुवा गर्ने अधिकार महानगरपालिकालाई नभएर जिल्ला समन्वय समितिलाई छ । शिक्षा समितिले प्रक्रिया र विधिमा रहेर दरबन्दी मिलान गर्ने अधिकारको दुरुपयोग गर्दै शिक्षक सरुवा गरेर रकम असुल्न थालेको टिकाटिप्पणी हुन थालेकोमा आपत्ती जनाउँदै प्रमुख सर्राफले शिक्षक दरबन्दी मिलान नमान्ने बताएका छन् । 
 

Back to top