×

वीरगञ्ज । बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको आक्रमणप्रति पर्साका हिन्दु धर्मावलम्बीहरुले आपत्ती जनाएका छन् । बंगलादेशमा आरक्षण व्यवस्थाको विरोध प्रदर्शन उग्र भएसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि इस्लामिक जिहादी समूहद्वारा हिन्दुमाथि आक्रमण भइरहेको प्रति पर्साका धार्मिक संगठनको ध्यानाकर्षण भएको हो । 

मानवता विरोधी घटना प्रति आपत्ती जनाउँदै वीरगञ्जका विभिन्न धार्मिक संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

हिन्दू धर्मले हिंसा, भेदभाव वा कट्टरता जस्ता कृत्यलाई कहिलै पनि प्रश्रय नदिएको स्पष्ट पार्दै हिन्दु परिषद् नेपालका अध्यक्ष सञ्जय सर्राफले मानवता विरोधी जिहादी तत्वहरूको हिंसात्मक कदमलाई रोक्नुपर्नेमा जोड दिए । 

मुस्लिम समुदायका व्यक्तिहरूले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम बाङ्गलादेशी हिन्दू समाजमाथि बर्बरतापूर्ण आक्रमण गर्दै हिन्दू मठ मन्दिर समेतलाई निशाना बनाएको आरएसएसका प्रवक्ता रन्जित सर्राफले बताए । यस घटनाले समस्त सनातन हिन्दू समाजलाई आहत एवं आक्रोशित बनाएको उनको टिप्पणी छ । 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, माईस्थान रथ यात्रा समितिका अध्यक्ष देवानन्द गुप्ता, सन्तोष गुप्ता, पवन गुप्ता, रन्जित गुप्ता लगायत उल्लेख्यको उपस्थिती रहेको थियो । 


 

Back to top