×

वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा एक यात्रुलाई कुट्ने प्रहरीलाई जिल्लामा तानिएको छ । बैकुण्ठधाम तिर्थ पुगेर बसबाट मकवानपुरतर्फ फर्किदै गरेका एक जना यात्रुलाई घण्टाघरस्थित प्रहरीले बिनाकारण कुटपिट गरेको पिडितको भनाई छ । 

सोमवार साँझ तिर्थयात्राबाट फर्किदै गरेको बससँग घण्टाघर चोकमै स्कुटी ठोक्किएको थियो । स्कुटीका चालकले आफुलाई पनि केही नभएको र स्कुटी पनि केही नभएको बताउँदै गएपछि बसका चालकसँग र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधखोज गरेको थियो । 

सोही क्रममा बसबाट झरेका मकवानपुरकै आशिक गढवालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउन लागेको बसमै सवार मैयाँ श्रेष्ठले यात्रा डेलीलाई जानकारी दिइन् । उनले भिडियो बनाउँदै गर्दा प्रहरीले फोटो भिडियो किन खिचेको भन्दै डिलिट गर्न दबाब दिएको बुझीएको छ । 

पछि घण्टाघरस्थित प्रहरी बिटको कार्यालय भित्र लिएर बिनाकारण कुटपिट गरेको श्रेष्ठले बताइन् । उनकाअनुसार आशिकलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरुले उपचार नगरेसम्म नलिने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच पश्चात अवस्था सामान्य रहेको भनेर कागज बनाएपछि उनीहरु फर्किएका थिए । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा तानिएको जानकारी दिए । उनकाअनुसार विभागिय कारवाही स्वरुप स्पष्टीकरण सोध्ने लगायतका कारवाही गरिएको छ ।

प्रहरी उपरीक्षक ढुङ्गेलले भने घण्टाघरको फोटो भिडियो नभएर प्रहरीको भिडियो बनाएपछि डिलिट गरेको हुँदा कुटपिट गरिएको हो । यद्यपी कुटपिट गर्नु गलत भएको बताउँदै उनले जिल्लामा तानेर विभागिय कारवाही गरिएको पुष्ठि गरे । 

Back to top